करिब ८ वर्षदेखि भाडाको घरमा सञ्चालन हुँदै आएको वीरगन्ज महानगरपालिका वडा नम्बर १२ को वडा समितिको कार्यालय र स्वास्थ्य चौकी शुक्रबारदेखि आफ्नै नवनिर्मित भवनमा सञ्चालनमा आएको छ ।
संघीय सरकारको १ करोड २५ लाख रुपैयाँको लागतमा मुर्ली पोखरी नजिकको जग्गामा निर्माण गरिएको दुई तल्ले सुविधासम्पन्न भवनमा वडा कार्यालयको माथिल्लो तल्ला र स्वास्थ्य चौकीको भुईँ तल्ला सञ्चालनमा ल्याइएको छ ।
वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले नवनिर्मित भवनको हिन्दू रितिरिवाज अनुसार पूजापाठ गरी उद्घाटन गरेका थिए। वडाध्यक्ष सुरेश प्रसाद गुप्ताले करिब ८ वर्षसम्म भाडामा सञ्चालन भएको कार्यालय अब आफ्नै भवनमा सारिएपछि सेवाग्राही र बिरामीहरूलाई सहज सेवा उपलब्ध हुने बताए ।
उद्घाटन कार्यक्रममा मेयर सिंहको प्रमुख आतिथ्यतामा वडाध्यक्ष गुप्ताका साथै प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, वडा सदस्य दिपक डंगोल र सीमा बैठा, वडा कार्यालयका सचिव मुकेश दास तथा कर्मचारी र स्वास्थ्यकर्मीहरूको उपस्थिती रहेको थियो ।
नवनिर्मित भवनबाट संचालन सुरु भएपछि वडा कार्यालय र स्वास्थ्य चौकीले कार्यक्षमता बढाउने तथा सेवाग्राहीलाई गुणस्तरीय सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।