आन्दोलनको बहानामा आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरू पक्राउ पर्न थालेकाे छ ।
भदौ २३ र २४ गते भएको युवापुस्ता (जेन–जेड) को आन्दोलनका क्रममा आन्दोलनको बहानामा व्यक्तिका घर तथा निजी सम्पत्तिमा आगजनी र लुटपाट गरेको आरोपमा पर्सा प्रहरीले संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आन्दोलनका क्रममा वीरगंजका विभिन्न स्थानमा निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड भएको भन्दै पीडितहरूले निवेदन दर्ता गराएपछि अनुसन्धान अघि बढाइएको हो ।
यसै क्रममा वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहको निजी निवासमा आगजनी गरेको अभियोगमा प्रहरीले वीरगंज १० रानीघाट निवासी रञ्जन सिंह राजपुतलाई पक्राउ गरेको छ । नगरप्रमुख सिंहका परिवारले दिएको किटानी जाहेरीका आधारमा बिहीबार बिहान राजपुतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप पाठकले जानकारी दिएका छन् ।
एसपी पाठकका अनुसार भदौ २४ गते अपराह्न नगरप्रमुख सिंहको वडा नं. ३ मा रहेको निजी निवासमा पुगेर राजपुतसहितको समूहले आगजनी गरेको आरोप छ । सोही आधारमा आवश्यक अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक सुदीप पाठकले बताए । प्रहरीका अनुसार राजपुतले नेतृत्व गरेको भिडले सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुर्याउनुका साथै आगजनी गरी जनधनको जोखिम बढाएको देखिएकाले उनीमाथि आपराधिक उपद्रव सम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।
भदौ २४ गते वीरगंजका विभिन्न स्थानमा भएको निजी तथा सार्वजनिक सम्पत्तिको क्षतिसम्बन्धी विषयमा जिल्ला प्रहरी कार्यालय पर्सामा थप उजुरीहरू दर्ता भइसकेका छन् । ती उजुरीका आधारमा अदालतबाट पक्राउ पुर्जी जारी गराई घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा पक्राउ प्रक्रिया तीव्र बनाइएको एसपी पाठकले बताए ।
पर्सा प्रहरीले आन्दोलनको नाममा अराजक गतिविधि गर्ने, आगजनी तथा लुटपाटमा संलग्न जो–कोहीलाई कानुनको दायरामा ल्याइने स्पष्ट पारेको छ ।