राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम सखुवा प्रसौनी गाउँपालिका भेला सम्पन्न भएको छ ।
भेलाले शम्भु प्रसाद यादवको सभापतित्वमा नौ सदस्यीय पालिका समिति गठन गरेको छ । नवगठित समितिको उपसभापतिमा सञ्चिता बुढाथोकी, सचिवमा अफजल हुसैन, कोषाध्यक्षमा प्रभु प्रसाद महतो तथा सह–सचिवमा जनक राज कँडेल चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा विरा महतो, अशेशोर साह तेली, निरञ्जन राउत र भोला राउत कुर्मी रहेका छन् ।
भेलालाई सम्बोधन गर्दै रास्वपा पर्सा जिल्ला सभापति हरी पन्तले भदौ २३ र २४ गते भएको ‘जेन–जेड’ आन्दोलनले कांग्रेस, एमाले, माओवादी तथा मधेसवादी दलजस्ता पुराना दलहरूको सान्दर्भिकता र अस्तित्वमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरेका थिए । उनले उक्त आन्दोलनले राष्ट्रिय स्वतन्त्र पार्टीको आवश्यकता र महत्वलाई स्थापित गरिदिएको दाबी गर्दै आगामी निर्वाचनमा रास्वपालाई भारी मतले विजयी गराउन सबैलाई आग्रह गरे ।
कार्यक्रममा रास्वपाका उपसभापति तुलसा पौडेल, अमन आलम, सब्बु कँडेल, महेन्द्र दास, सोनालाल पटेलल गायत नेताहरूले पार्टी संगठन सुदृढीकरण, सुशासन र जनमुखी राजनीतिका विषयमा आफ्ना धारणा राखेका थिए ।
रास्वपा क्षेत्रीय सभापति मनोज कुर्मीको अध्यक्षतामा सम्पन्न भेलाको सहजीकरण कृष्णा पासवानले गरेका थिए ।