मङ्सिर महिनाको सुरक्षा अवस्थालाई लिएर जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक गरेको तथ्याङ्कले जिल्लाको सामाजिक सुरक्षा चित्र मिश्रित देखाएको छ । अपराध नियन्त्रणमा केही प्रगति देखिए पनि बेपत्ता र आत्महत्यासम्बन्धी घटनाले गम्भीर चिन्ता थपेको छ ।
प्रहरीका अनुसार मङ्सिर महिनामा जिल्लाभर विभिन्न प्रकृतिका ८८ वटा आपराधिक मुद्दा दर्ता भएका छन् । तीमध्ये २८ वटा मुद्दा फर्छ्यौट भइसकेका छन् भने ६० वटा मुद्दा अनुसन्धानकै चरणमा रहेका छन् ।
सोही अवधिमा विभिन्न अपराधमा संलग्न ४२ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिन कार्कीले जानकारी दिए ।
बेपत्ता हुनेको संख्या उच्च
मङ्सिर महिनामा २७ जना व्यक्ति बेपत्ता भएको उजुरी प्रहरीमा दर्ता भएको छ । तीमध्ये ९ जना मात्रै फेला परेका छन् । बेपत्ता हुनेमध्ये महिला र बालबालिकाको संख्या उल्लेख्य रहेको प्रहरीको विवरणमा उल्लेख छ ।
घरेलु हिंसाका उजुरी
एक महिनाको अवधिमा घरेलु हिंसासम्बन्धी २८ वटा उजुरी दर्ता भएका छन् । तीमध्ये अधिकांश उजुरी मिलापत्रमार्फत समाधान गरिएको छ भने बाँकी उजुरीमा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
आत्महत्याका तथ्याङ्कले चिन्ता
मङ्सिर महिनामा मात्रै २० जनाको आत्महत्यासम्बन्धी तथ्याङ्क सार्वजनिक भएपछि जिल्लामा सामाजिक चिन्ता बढेको छ । तथ्याङ्कअनुसार महिला, पुरुष तथा बालबालिकासमेत आत्महत्यामा परेका छन् ।
उमेर समूहअनुसार १८ वर्षमुनिका तथा सक्रिय उमेर समूहका व्यक्तिहरूको संख्या उल्लेख्य रहेको भन्दै प्रहरीले यसलाई गम्भीर सामाजिक चुनौतीका रूपमा हेरिएको जनाएको छ ।
लागूऔषध र सवारी दुर्घटना
लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले गाँजा, खैरो हिरोइनसहित अन्य प्रतिबन्धित औषधि बरामद गरेको छ । साथै औषधि दुरुपयोगसँग सम्बन्धित केही एम्बुलेन्ससमेत नियन्त्रणमा लिइएका छन् ।
सवारी दुर्घटनातर्फ हेर्दा मङ्सिर महिनामा भएका दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १६९ जना घाइते भएका छन् ।
ट्राफिक नियम उल्लङ्घन गर्ने १ हजार १० वटा सवारी साधन कारबाहीमा परेका छन् । सो कारबाहीबाट १० लाख ५६ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।