राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रिहा हुने भएका छन् । उनको रिहाइलाई विशेष बनाउन पार्टीले काठमाडौँदेखि चितवनसम्म विभिन्न कार्यक्रम तय गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
प्रवक्ता झाका अनुसार शुक्रबार बिहान ७ बजेर ५५ मिनेटको उडानमार्फत नख्खु कारागार प्रशासनले रवि लामिछानेलाई रूपन्देही लैजानेछ । रूपन्देही जिल्ला अदालतमा उपस्थित भई तारिख बुझ्ने लगायतका आवश्यक अदालती तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि अदालतले रिहाइसम्बन्धी पत्र प्रदान गरी उनलाई परिवारको जिम्मा लगाउनेछ ।
रविको स्वागतका लागि रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालसहित पार्टीका पदाधिकारीहरू पनि रूपन्देही जाने कार्यक्रम तय भएको छ ।
प्रवक्ता झाका अनुसार करिब मध्याह्न १२ बजेसम्म सम्पूर्ण कानुनी प्रक्रिया सकिनेछ । त्यसपछि रविले रूपन्देहीमा उपस्थित नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
रूपन्देही र भैरहवाका कार्यक्रम सम्पन्न भएपछि रवि दिउँसो करिब १ बजे स्थलमार्ग हुँदै नवलपरासी र चितवनतर्फ प्रस्थान गर्नेछन् । चितवन पुग्ने क्रममा उनले बाटोका चार फरक–फरक स्थानमा उपस्थित पार्टी नेता, कार्यकर्ता र शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ ।
रास्वपाका अनुसार नवलपरासी पूर्व र पश्चिम दुवै जिल्लामा स्वागत तथा भेटघाट कार्यक्रमको तयारी पूरा भइसकेको छ । रवि शुक्रबार साँझ नै चितवन आइपुग्नेछन् र त्यहाँ पनि पार्टी नेता, कार्यकर्ता तथा शुभेच्छुकसँग भेट गर्नेछन् ।
शनिबार बिहान ११ बजे रविको स्वागतका लागि रास्वपा चितवनले भरतपुरमा खुला सभाको आयोजना गर्ने भएको छ । चौबिसकोठी वा जिल्ला प्रशासन कार्यालय अगाडिको चौरमध्ये एक स्थानमा सभा आयोजना गरिने पार्टीले जनाएको छ । उक्त सभालाई सम्बोधन गरेपछि रवि शनिबार नै हवाई मार्ग हुँदै काठमाडौँ फर्कने कार्यक्रम छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल बाहिर रास्वपाले रविको स्वागत गर्ने कार्यक्रम तय गरेको छ । त्यसपछि उनी सिधै पार्टी केन्द्रीय कार्यालय वनस्थली पुग्नेछन् । पार्टी कार्यालयमा उनले जेन–जी आन्दोलनका शहीदका परिवार, घाइते तथा उनीहरूका परिवारसँग भेटघाट गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।