बारा प्रहरीले जेन–जी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवल, सुन्धारा (काठमाडौँ)बाट फरार रहेका लागुऔषध मुद्दाका दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ पर्नेमा करैयामाई गाउँपालिका वडा नम्बर ७ पिपरा निवासी २९ वर्षीय विवेक चौधरी र सोही स्थान निवासी २३ वर्षीय कृष्णा चौधरी रहेका छन् । उनीहरू दुवै लागुऔषध मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागारमा राखिएका थिए । प्रहरी चौकी बारागढीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई करैयामाई गाउँपालिका वडा नम्बर ७ पिपराबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरूलाई काठमाडौं जिल्ला अदालतले लागुऔषध मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागार चलान गरेको थियो । नयाँ पुस्ताका युवा (जेन–जी) ले गरेको आन्दोलनको मौका छोपी उनीहरू गत भदौ २४ गते कारागार तोडी फरार भएका थिए ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार कार्यालय वीरगञ्ज, पर्सामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।