विशेष सूचनाको आधारमा प्रहरीले वीरगञ्जमा खैरो हेरोइन जस्तो देखिने लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा अन्तर्गत प्रहरी चौकी बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो वीरगञ्जबाट खटिएको संयुक्त टोलीले दिउँसो २ बजे वीरगञ्ज महानगरपालिका–१५, प्रतिमा चोकस्थित सडकखण्डमा शंकास्पद रूपमा हिँडिरहेका चार जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका मध्ये पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–१९ बिन्दवासिनी निवासी ३० वर्षीय शम्भु राउत कम्करको शरीर खनतलासी गर्दा, उनका जिन्स पाइन्टको दाहिने खल्तीमा कागजले बेरिएको प्लाष्टिकसहित ४५ ग्राम खैरो हेरोइन जस्तो देखिने लागूऔषध फेला परेको छ ।
उनिसहित पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ निवासी १९ वर्षीय चन्दन कुमार पण्डित, बहुदरमाई नगरपालिका–१ निवासी ४० वर्षीय राज किशोर मिश्रा, र भारत बिहार राज्य मोतिहारी जिल्ला छटौनी थाना वडा नम्बर–६ निवासी २७ वर्षीय सचिन सिंह रहेका छन् ।
पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता राजु कार्कीका अनुसार, बरामद लागूऔषधसहित चारै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको छ ।