नेपाली महिला क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक हर्षल पाठकले आईसीसी महिला ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट हासिल गर्ने लक्ष्यसहित टोली मैदानमा उत्रिने बताएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रशिक्षक पाठकले घरेलु मैदानमा हुने क्वालिफायरमा नेपालको सम्भावना बलियो रहेको भन्दै जितमुखी प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
जनवरी १८ देखि फेब्रुअरी ३ सम्म क्वालिफायर
आगामी जनवरी १८ देखि फेब्रुअरी ३ सम्म नेपालमा आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल क्वालिफायर आयोजना हुँदैछ । घरेलु मैदानमा हुने प्रतियोगिताले नेपाली टोलीलाई आत्मविश्वास थप्ने पाठकको भनाइ छ ।
समूह ‘बी’ मा नेपाल
नेपाल समूह ‘बी’ मा रहेको छ, जहाँ नेदरल्यान्ड्स, स्कटल्यान्ड, थाइल्यान्ड र जिम्बाब्वे छन् । पाँच टोली रहेको समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् ।
सुपर सिक्सबाट शीर्ष चार टोलीले सन् २०२६ को जुन १२ देखि जुलाई ५ सम्म इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपमा स्थान बनाउनेछन् ।
थाइल्यान्डका पूर्व प्रशिक्षक, अब विपक्षी
क्यानले छनोट प्रतियोगिताअघि नै महिला टोलीका लागि अनुभवी प्रशिक्षक नियुक्त गरेको हो । पाठकले सात वर्षसम्म थाइल्यान्डको महिला तथा पुरुष टोलीको प्रशिक्षकका रूपमा काम गरेका थिए । यसपटक भने उनी सोही टोलीविरुद्ध विपक्षी प्रशिक्षकका रूपमा उत्रिनेछन् ।
फिटनेस र ब्याटिङ सुधार मुख्य चुनौती
नेपाली महिला टोलीको फिटनेस र ब्याटिङ सुधार आफ्नो मुख्य जिम्मेवारी भएको पाठकले बताए । नेपाली पिच ब्याटिङका लागि अनुकूल रहेको उल्लेख गर्दै उनले कन्डिसन बुझ्नुपर्ने आवश्यकता औंल्याए ।
टोलीको कमजोरीभन्दा पनि खेलाडीको इच्छाशक्ति र प्रतिबद्धताले नतिजा निर्धारण गर्ने उनको भनाइ छ ।
इच्छाशक्ति बलियो, तर दीर्घकालीन योजना आवश्यक
नेपाली खेलाडीको इच्छाशक्ति बलियो रहेकाले सुधार सम्भव रहेको पाठकको विश्वास छ । यद्यपि, क्रिकेटमा रातोरात परिवर्तन सम्भव नहुने भन्दै उनले दीर्घकालीन योजना र जुनियर स्तरबाटै सुधार आवश्यक रहेको बताए ।
नेपाललाई प्रशिक्षक गर्न पाउँदा खुशी
नेपाल आउनुको मुख्य कारण राम्रो र जोसिलो टोलीलाई प्रशिक्षण दिन पाउनु भएको पाठकले बताए । यसअघि विपक्षी प्रशिक्षकका रूपमा नेपाली टोलीलाई हेरेकाले खेलाडीको क्षमता, स्ट्रेन्थ र प्यासनबारे आफू जानकार रहेको उनले उल्लेख गरे ।
क्रिकेटप्रति गहिरो लगाव भएको टोलीसँग काम गर्न पाउँदा विशेष आनन्द मिल्ने उनको भनाइ छ ।
घरेलु आयोजना आत्मविश्वासको स्रोत
महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायर नेपालमै आयोजना हुनु खेलाडीका लागि ठूलो आत्मविश्वासको विषय भएको पाठकले बताए । थाइल्यान्डलाई प्रशिक्षक हुँदा विश्वकपमा छनोट गराएको अनुभव नेपाली टोलीका लागि उपयोगी हुने उनको विश्वास छ ।
खेलाडीमा क्षमता र क्रिकेटप्रतिको लगाव मुख्य आधार भएको उल्लेख गर्दै उनले सकारात्मक वातावरण र स्पष्ट योजना भए नतिजा आउने बताए । जहाँ खेले पनि प्रतियोगिताबाट सिक्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।