राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र रास्वपाबीचको एकता प्रक्रियामा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि समेट्नुपर्ने बताएकी छन् । उक्त एकताको जिम्मेवारी बालेन र रास्वपाकै रहेको उनको भनाइ छ ।
वैकल्पिक शक्तिहरूबीच एकता हुनुपर्छ भन्दै सक्रिय रूपमा पहल गरिरहेकी श्रेष्ठले कान्तिपुरसँगको कुराकानीमा उज्यालो नेपाल पार्टीलाई पनि एकता प्रक्रियामा ल्याउन एकता पक्षधरहरूले थप मेहनत गर्नुपर्ने बताइन् ।
उनले बालेन र रास्वपाबीच भएको ७ बुँदे समझदारीले संसद् पुनःस्थापना गर्न लागिपरेका दलहरूलाई समेत निस्तेज बनाएको दाबी गरिन् । यो एकताबाट आफू अत्यन्तै खुसी भएको प्रतिक्रिया दिँदै उनले एकतापछि नयाँ शक्तिमाथि ठूलो जिम्मेवारी आएको उल्लेख गरिन् ।
श्रेष्ठले जनतामा विद्यमान वितृष्णालाई सम्बोधन गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै अब देशलाई निकास दिन स्पष्ट खाका कोर्नुपर्ने बताइन् । देशभित्र बढ्दो वितृष्णा रोक्न नयाँ शक्तिले निर्णायक भूमिका खेल्नुपर्ने उनको भनाइ छ । साथै, यो एकताले समयमै चुनाव हुन पनि बल पुगेको उनले बताइन् ।
एकता प्रक्रियापछि आफ्नो भूमिका के हुन्छ भन्ने प्रश्नमा श्रेष्ठले परिवर्तनका लागि जहाँ आफ्नो भूमिका महत्त्वपूर्ण हुन्छ, त्यही रहने बताउँदै एकता प्रक्रियामा आफू सहयोगीको भूमिकामा रहने स्पष्ट पारिन् ।