मधेसका गाउँघरमा समयसंगै गुञ्जिने ‘डफला’ बाजा केवल संगीतको साधन मात्र थिएन, यो जीवनका हरेक उत्सव, यात्रा र संस्कारको साक्षी पनि थियो । शुभकार्यमा मङ्गल धुन बन्ने र मृत्यु संस्कारमा अन्तिम बिदाइको गम्भीर स्वर बन्ने डफला अहिले लोपोन्मुख अवस्थामा पुगेको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का दिनेश लोधका अनुसार, “समयको परिवर्तनसँगै भित्रिएको डिजे र आधुनिक ब्यान्डको चर्को स्वरले डफलाको मौलिक धुनलाई विस्तारै मधुरो बनाउँदै लगेको छ । लोक–संस्कारको पर्याय मानिने डफला अहिले लोपोन्मुख अवस्थामा छ ।”
डफला नेपालमा अवध (मधेस) को विशिष्ट पहिचान बोकेको प्राचीन ताल बाजा हो । यसको बनावटमा सादगी छ भने ध्वनि गम्भीर र मिठासपूर्ण हुन्छ । यसलाई खासगरी सिसौ वा कर्माको काठको गोलाकार घेरा बनाएर तयार पारिन्छ ।
डफलाको एकतर्फ बाख्रा वा गाईको प्रशोधित छाला मढिएको हुन्छ । देब्रे हातले समातेर दाहिने हातका औँला, हत्केला वा दुईवटा पातला लट्ठीको सहायताले यसलाई तालबद्ध रूपमा बजाइन्छ ।
यो बाजा मुख्यतया उल्लास, विरह र वीरगाथा गायनमा प्रयोग हुने सांस्कृतिक साधन हो । यसको प्रयोग वसन्त पञ्चमीदेखि होली, दीपावली, पञ्चमीलगायत पर्व तथा अन्य मौलिक संस्कारसँग पनि गहिरो सम्बन्धित छ ।
लुम्बिनी सांस्कृतिक बिरहा समूहका ६० वर्षीय डफला वादक राम उजागिर चमारका अनुसार, “हाम्रा पूर्खाहरूको कथन अनुसार डफला भगवान शिवको डमरु र खैँझडीको विकसित स्वरूप हो । जब भगवान शिवले ताण्डव नृत्य गर्नुभयो, त्यसको ताललाई काठ र छालाबाट घेराकार डफला बाजा तयार पारिएको हो ।”
अर्का वादक चिट्टू चमारका अनुसार आदिकालमा खुशी व्यक्त गर्न प्रकृतिको प्रतिध्वनिलाई पछ्याउँदै काठको टोड्कामा छाला मढेर यसको पहिलो आवाज उत्पन्न भएको लोकविश्वास छ । तर आधुनिकताले यस पेशालाई विस्थापित गरिदिएको छ ।
गाउँपालिका–७ बेतकुइयाँका ८० वर्षीय झगरु मुरावका अनुसार, “नयाँ पुस्तामा आधुनिकताप्रतिको आकर्षण, वैदेशिक रोजगारीको मोह, सामाजिक सम्मानको कमी र न्यून आर्थिक लाभका कारण डफलाको ताल र यसको पुरानो वैभव सम्झनामा मात्र सीमित हुन थालेको छ ।”
लोक–संस्कृतिका जानकार एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. त्रिभुवन बरईले भने, “डफला सीप निश्चित समुदायमा मात्र सीमित रहनु यसको संकटको मुख्य कारण हो । आधुनिक सङ्गीतले दिने ध्वनि भन्दा डफलाले दिने आत्मिक शान्ति र सांस्कृतिक गहिराइ विस्तारै हराउँदै गएको छ ।”
लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यबाहक प्रमुख कल्पना हरिजनले स्थानीय सरकारले कलाकारलाई प्रोत्साहन भत्ता र सामाजिक सम्मान दिन आवश्यक रहेको बताए । उनी भन्छिन्, “पेशागत पुस्तान्तरण नहुँदा यो कला लोप हुँदैछ। सामूहिक डफला प्रतियोगितालाई बढावा दिनुपर्छ ।”
त्यसैगरी, लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री वसीउद्दीन खाँले डफलालाई विद्यालय पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिए । उनले भने, “यो सीपलाई जातीय घेराभन्दा बाहिर ल्याएर इच्छुक जो कोहीलाई तालिम दिने व्यवस्था गर्नुपर्छ । राज्य र समुदाय दुबैले संरक्षणमा सक्रियता नदेखाए डफलाको इतिहास केवल किताबमा मात्र सीमित हुनेछ ।”