वीरगंज | नेपाली कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा क्षेत्र नं. २ बाट डा. राजु बैठालाई समानुपातिक सांसदको उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं. २३ सबैठवा निवासी डा. बैठा बुबा भागीरथ बैठा र आमा रामदुलारी देवीका तीन सन्तानमध्ये जेठा हुन् । उनी आफ्नो परिवारमा औपचारिक शिक्षाको मार्गमा अघि बढ्ने पहिलो व्यक्ति समेत हुन् । उनले प्राथमिक शिक्षा (कक्षा ५) देखि माध्यमिक शिक्षा (कक्षा ८ र १०) सम्मको अध्ययन पूरा गरेका छन् ।
उच्च शिक्षातर्फ अग्रसर हुँदै उनले हरिखेतान बहुमुखी क्याम्पसबाट प्लस टु, ठाकुरराम बहुमुखी क्याम्पसबाट अंग्रेजी विषयमा स्नातक (बीएड) र स्नातकोत्तर (एमएड) पूरा गरेका छन् । साथै त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर (एमए) अध्ययन गरेका छन् । शैक्षिक यात्रालाई निरन्तरता दिँदै उनले भारतको पञ्जाबस्थित रिमिक विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि पनि हासिल गरेका छन् ।
दलित समुदायमा जन्मिएका डा. बैठाले सामाजिक विभेद र अपमानजन्य व्यवहारको सामना गर्दै अध्ययनलाई आफ्नो जीवनको मूल लक्ष्य बनाएका थिए । ‘अनपढका सन्तान’ भन्ने शब्दले उनलाई निरुत्साहित गर्नुको साटो अझ उच्च शिक्षा हासिल गर्ने प्रेरणा दिएको उनी बताउँछन् ।
राजनीतिक यात्रामा पनि डा. बैठा लामो समयदेखि सक्रिय छन् । उनी २०५८ सालदेखि नेकपा माओवादी केन्द्रको राजनीतिमा संलग्न छन् । यस अवधिमा उनले अखिल (क्रान्तिकारी), जिल्ला समिति सदस्य, तत्कालीन वीरगंज उपमहानगर कमिटीका नगर अध्यक्ष, मधेसी राष्ट्रिय मुक्तिमोर्चा लगायत पार्टीका विभिन्न संगठनमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । हाल उनी पर्सा जिल्ला कमिटी सदस्य तथा वीरगंज महानगरपालिकाका उपाध्यक्षको जिम्मेवारीमा छन् ।
डा. बैठा दलित तथा सीमान्तकृत समुदायको अधिकार, प्रतिनिधित्व र समावेशिताका लागि निरन्तर संघर्षरत नेता मानिन्छन् । पार्टीभित्र समेत सही र गलत प्रवृत्तिको स्पष्ट पहिचान गर्दै अन्यायको विरोध गर्न सक्ने साहसिक नेताको रूपमा उनी परिचित छन् ।
नेकपा माओवादी केन्द्रले डा. बैठालाई समानुपातिक सांसदको उम्मेदवारका रूपमा सिफारिस गर्दा पार्टीका इन्चार्ज विजय महतो थारु, जिल्ला संयोजक रामदरस कुशवाहा, तत्कालीन नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापा, सह–इन्चार्ज मनोज चौधरी, जसपाका केन्द्रीय सदस्य सत्यनारायण रौनियारलगायत नेताहरूको हस्ताक्षर रहेको छ ।
डा. बैठाले आफ्नो शिक्षा, ज्ञान र अनुभवलाई समाज सेवा तथा न्यायपूर्ण समाज निर्माणमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । उनको बुझाइमा शिक्षा व्यक्तिगत उन्नतिका लागि मात्र होइन, सामाजिक परिवर्तनको शक्तिशाली माध्यम हो ।