राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदतर्फ एक सय १० जनाको बन्दसूची निर्वाचन आयोगमा पेस गरेसँगै देशभर राजनीतिक चासो बढेको छ ।
पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक एवंम् उज्यालाे नेपाल पार्टीका कुलमान घिसिङबीच सहकार्यको सन्देश दिएपछि रास्वपा थप चर्चामा आएको हो । रास्वपाले मधेशलाई प्राथमिकतामा राख्दै समावेशी प्रतिनिधित्वलाई अघि बढाएको जनाएको छ ।
सोही क्रममा मधेशमा सामाजिक पहिचान र सेवामूलक कार्यबाट परिचित स्वास्थ्य अभियन्ता डा. रामजी रामलाई पनि समानुपातिक सूचीमा समेटिएको छ । पिछडिएको समुदायमा पर्ने चमार समुदायका डा. रामजी रामलाई सूचीमा समावेश गर्नु समावेशीतर्फको सन्देश भएको पार्टीको भनाइ छ ।
निर्वाचन आयोगमा पेस गरिएको बन्दसूचीमा मधेश प्रदेशबाट मधेसी कोटामा १८ जनाको नाम समावेश गरिएको छ । सो सूचीमा पर्साबाट डा. नन्दन यादव मधेसी कोटाको पहिलो नम्बरमा परेका छन् । यादव पेशाले शिक्षक हुन् र रास्वपाका केन्द्रीय सदस्यसमेत रहेका छन् ।
डा. नन्दन यादवसँगै मधेसी कोटामा खगेन्द्र कर्ण, पुरुषोत्तम यादव, डा. अभिषेक राज सिंह, प्रा. डा. सुदन झा, देवनारायण मण्डल, डा. रञ्जित पञ्जियार, डा. अभिजित गुप्ता, पदम कुमारी अग्रवाल, डा. ललिता कुमारी, डा. अंकीता ठाकुर, निसा मेहता, मनीषा कुमारी, कामिनी कुमारी, ममता शर्मा, प्रतिमा कुमारी सिंह, सुष्मा पण्डित र जुली यादव रहेका छन् ।
रास्वपाका अनुसार समानुपातिकतर्फ पर्साबाट कुल पाँच जनाले आवेदन दिएका थिए । तीमध्ये मधेसी क्लस्टरबाट डा. नन्दन यादव, खस आर्य क्लस्टरबाट देवकुमारी कँडेल (सबु कँडेल) र पुरुषोत्तमदेव यादव, दलित क्लस्टरबाट कृष्ण पासवान तथा मुस्लिम महिला क्लस्टरबाट मोरियम खातुनले आवेदन दिएका थिए । सो सूचीमध्ये मधेसी क्लस्टरको पहिलो नम्बरमा डा. नन्दन यादवको नाम परेकाे रास्वपा पर्साका सभापति हरि पन्तले जानकारी दिए ।
रास्वपाले बन्दसूची तयार गर्दा क्षेत्रीय सन्तुलन, समावेशी प्रतिनिधित्व, पेशागत विविधता र सामाजिक योगदानलाई आधार बनाइएको जनाएको छ । देशभरमा सक्रिय पुराना नेता देखि कलाकार, पत्रकार, अभियन्ता, हिमाल आरोहीहरू तथा उद्यमी व्यवसायीहरू समेत रास्वपामा रहेका छन् । बन्दसूचीमा गायक प्रकाश सपुत, कलाकार रिमा विश्वकर्मादेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसम्म अटाएका छन् ।
पार्टीले आगामी दिनमा नीति–कार्यक्रम सार्वजनिक गर्दै संगठन विस्तार र चुनावी तयारीलाई तीव्र बनाउने तयारी गरेको छ ।