एचआईभीसम्बन्धी लाञ्छना र भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले स्वास्थ्य कार्यालय बाराको आयोजनामा सिमरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख रवि भास्करले एचआईभी के हो, यसको प्रमुख लक्षण, संक्रमण फैलिने तरिका, बच्ने उपाय तथा एचआईभी सङ्क्रमित व्यक्तिप्रति गरिने भेदभाव र लाञ्छनाले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक असरबारे सहभागीहरूलाई जानकारी गराए ।
उनले एचआईभी कुनै पनि सामान्य सम्पर्कबाट नसर्ने स्पष्ट पार्दै सुरक्षित यौन व्यवहार अपनाउने, स्वच्छ सुई–सिरिन्ज प्रयोग गर्ने, सुरक्षित रगत परीक्षण तथा समयमै स्वास्थ्य जाँच गर्ने उपायहरू नै संक्रमण रोकथामका मुख्य माध्यम भएको बताए ।
रवि भास्करले एचआईभी सङ्क्रमित व्यक्तिहरूलाई समाजबाट अलग गर्ने, अपहेलना गर्ने वा अधिकारबाट वञ्चित गर्ने प्रवृत्तिले उनीहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने र उपचार प्रक्रियामा समेत बाधा पुग्ने उल्लेख गरे ।
कार्यक्रममा सहभागीहरूले एचआईभीसम्बन्धी भ्रम र गलत धारणाका कारण समाजमा अझै पनि लाञ्छना कायम रहेको भन्दै यस्ता सचेतनामूलक कार्यक्रमलाई स्थानीय तहसम्म निरन्तर सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए ।
स्वास्थ्य कार्यालय बाराले एचआईभीसम्बन्धी सही सूचना प्रवाह, परीक्षण तथा परामर्श सेवामा पहुँच विस्तार गर्दै भेदभावरहित समाज निर्माणका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बाराका राम विश्वास साह, उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत अशोक जैसवाल, श्री ने.रा.मा.वि.का प्रधानाध्यापक शंकर आचार्यलगायतको सहभागिता रहेको थियो ।