नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)को डेरामा चोरी गरेको आरोपमा प्रहरीले चार भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहारका २५ वर्षीय विकास पोदार, १९ वर्षीय राजु पोदार, ३३ वर्षीय लल्लु पोदार भनिने राजेन्द्र कुमार र ४६ वर्षीया विणा देवी रहेका छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। पक्राउ परेकामध्ये विणा देवी र विकास पोदार आमाछोरा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले काठमाडौंको कलंकीस्थित तासिङडोल मार्गमा रहेको किसन सिंह बस्नेतको घर तथा उक्त घरमा डेरा गरी बस्ने सांसद थपलियाको कोठामा चोरी गरेका थिए । उनीहरूले कलंकीकै रञ्जित कोलोनीस्थित निरञ्जन नेपालको घरमा समेत चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
सुर्खेतबाट कात्तिक ५ गते काठमाडौं फर्किएर आफ्नो कोठामा पुग्दा चोरी भएको थाहा पाएपछि सांसद थपलियाले प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि अनुसन्धानमा जुटेको प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक तथा प्रवक्ता रामेश्वर कार्कीका अनुसार उनीहरू चोरी गरेका सामान पोका पारेर भारत जाने तयारीमा रहेका बेला पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनीहरूले सुनचाँदीका गरगहनादेखि वाइनसम्म चोरी गरेको पाइएको छ । दशैंलाई लक्षित गरी चोरी गरेको र चोरीका सामान भारत लगेर बिक्री गर्ने तयारी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूको साथबाट विभिन्न आकारप्रकारका ३२ थान सुनचाँदीका गरगहना तथा भाँडावर्तन बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।