महिलाहरूको सीप विकास तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल ट्रेड युनियन पर्साको आयोजनामा वीरगंजमा तीनमहिने सिलाइकटाइ तथा ब्युटिसियन तालिम सुरु भएको छ ।
वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले गमलामा पानी हालेर तालिमको औपचारिक उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि आलमले आगामी दीपावली तथा छठ पर्वको अग्रिम शुभकामना व्यक्त गर्नुभयो । उहाँले यस्ता सीपमूलक तालिमले महिलाहरूलाई आत्मनिर्भर बन्न, आफ्नै व्यवसाय सञ्चालन गर्न तथा आयआर्जनको स्रोत तयार गर्न सहयोग पुग्ने बताउनुभयो ।
नेपाली कांग्रेसको भ्रातृ संस्थाका रूपमा रहेको ट्रेड युनियनले नागरिकको कार्यदक्षता अभिवृद्धि तथा सीप विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
तालिममा ३० जना महिला सहभागी भएका छन् । जसमध्ये १५ जनालाई प्रशिक्षक मजिद मियाले सिलाइकटाइसम्बन्धी तालिम दिनुहुनेछ भने अन्य १५ जनालाई प्रशिक्षक राधा हमालले ब्युटिसियनसम्बन्धी तालिम प्रदान गर्नुहुनेछ ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वीरगञ्ज महानगरपालिका–२ का वडा अध्यक्ष महमद रेयाज मिया, नेपाल ट्रेड युनियन मधेस प्रदेशका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद कुर्मी तथा नेपाली कांग्रेस श्रमिक संघका केन्द्रीय अध्यक्ष अमृतलाल जोशीको उपस्थिति रहेको थियो ।
त्यसैगरी, वडा नम्बर २ का वडा सदस्यहरू बसिर मिया, चन्द्रनारायण सिंह रिजाल, पुन्देवप्रसाद यादव, उर्मिला थापालगायत स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।
नेपाल ट्रेड युनियन पर्साका अध्यक्ष छोटेलालप्रसाद साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तथा व्यवस्थापनमा स्थानीय पदाधिकारी र अगुवाहरूको सक्रिय सहभागिता रहेको थियो ।
तालिमले सहभागी महिलाहरूको सीप अभिवृद्धि गर्दै स्वरोजगार र आर्थिक आत्मनिर्भरतामा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।