पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा गरिने माघ स्नान तथा स्वस्थानी व्रत आजदेखि विधिवत् रूपमा सुरु भएको छ ।
वैदिक सनातन धर्मावलम्बीहरूले घरघरमा विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत र कथा वाचन गर्दै विभिन्न शक्तिपीठमा पूजा–आराधना आरम्भ गरेका छन् । सतीदेवीका अङ्ग पतन भएका स्थानमा देवीदेवताको बास रहेको धार्मिक विश्वासका आधारमा यो परम्परा सुरु भएको मानिन्छ । पुस शुक्ल चतुर्दशीका दिन हात–गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र धारण गरेर व्रतको तयारी गरिन्छ ।
व्रत अवधिभर बिहान माघ स्नान गरी मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गर्ने र साँझ स्कन्द पुराणको केदारखण्ड अन्तर्गतको माघ माहात्म्य (स्वस्थानी व्रत कथा) वाचन तथा श्रवण गर्ने परम्परा रहि अाएकाे छ । कुल परम्पराअनुसार कथावाचन बिहान वा साँझ गरिन्छ ।
एक महिना व्रत सम्पन्न गरेपछि माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता, विभिन्न फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाई व्रत सफल होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ । चढाइएका प्रसादमध्ये प्रत्येक वस्तुबाट आठ–आठ भाग पतिलाई दिने, पति नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई दिने र त्यस्तो कोही नभए नजिकको पवित्र नदीमा प्रवाह गर्ने विधि रहेको छ ।
व्रतालुले सय रोटी फलाहार गरी रातभर जाग्राम बस्ने तथा जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने–सुनाउने गरिन्छ । यसो गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । ‘स्वस्थानी’ शब्दको अर्थ आफू बसेको स्थानकी देवी भन्ने बुझिन्छ । उत्तरायणपछिको समय ध्यान, योग र साधनाका लागि उपयुक्त मानिने भएकाले आफ्नै आत्मासँग सम्पर्क गर्ने अभ्यासलाई स्वस्थानी भनिएको विश्वास पनि छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराईका अनुसार स्कन्द पुराणमा स्वस्थानी देवीलाई सुवर्ण वर्णकी, त्रिनेत्रधारी, चार हात भएकी, कमल र सिंहासनमा विराजमान देवीका रूपमा वर्णन गरिएको छ । उनका अनुसार देवीका चार हातमध्ये एक हातमा नीलकमल, दोस्रोमा खड्ग, तेस्रोमा ढाल र चौथोमा वरदमुद्रा रहेको उल्लेख छ ।
स्वस्थानी व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुने, रोगव्याधि निको हुने र इच्छित जीवनसाथी प्राप्त हुने विश्वास प्रचलित छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाउन विष्णुको निर्देशनअनुसार स्वस्थानी व्रत गरेको कथा स्वस्थानीमा उल्लेख छ । व्रतपछि बिछोडिएका नाग–नागिनीको पुनर्मिलन भएको कथासमेत समावेश गरिएको छ ।
साँखुको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’का अनुसार गोमा ब्राह्मणीले सप्तऋषिबाट सिकेको विधिअनुसार व्रत गर्दा पुत्रवियोगबाट मुक्ति पाएको र व्रतकै प्रभावले उनका छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र) का राजा बनेको कथा पनि स्वस्थानीमा वर्णित छ ।
यसै अवसरमा काठमाडौँ उपत्यकाको उत्तर–पूर्वी भेगमा पर्ने साँखुस्थित शालिनदीमा आजदेखि एक महिनासम्म माघ स्नानसहित माधवनारायण मेला सुरु भएको छ । ‘माघ महिनामा शालिनदीमा स्नान गरी माधवनारायणको दर्शन गरेमा पाप पखालिने र पुण्य प्राप्त हुने विश्वासका कारण हरेक वर्ष लाखौँ भक्तजन यहाँ आउने गर्छन्,’ इतिहासकार श्रेष्ठले बताए ।
यस वर्षको माधवनारायण मेलाका लागि सम्पूर्ण तयारी पूरा भइसकेको शालिनदी व्यवस्थापन समितिले जनाएको छ । शालिनदीमा स्नान तथा माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागका साथै भारतबाट समेत भक्तजन आउने गरेका छन् ।