काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ । यस आचारसंहिताअनुसार, सरकारी तथा अर्धसरकारी निकायहरूले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने जनाएकाे छन ।
निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा भनिएको छ कि कुनै पनि परियोजनाका स्रोत, साधन वा सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न पाइने छैन। निर्वाचन व्यवस्थापन, मतदाता शिक्षा तथा अन्य कार्यक्रममा अवरोध सिर्जना गर्ने, सूचना बिगार्ने वा निर्वाचनसँग सम्बन्धित सामग्रीमा थपघट गर्ने कार्य पनि निषेध गरिएको छ।
सरकारी, अर्धसरकारी वा सार्वजनिक संस्था, विश्वविद्यालय, विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न पाइने छैन। राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिह्न अङ्कित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी, क्याप, गम्छा, मास्क, लकेट, स्टिकर, झोला, ब्याच वा ट्याटुजस्ता सामग्री उत्पादन, प्रयोग, बिक्री वा प्रदर्शन गर्न पाउने छैनन् ।
साथै, निजी घर वा संस्थागत स्वामित्वको जग्गामा स्वीकृति नलिई राजनीतिक गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ। बालबालिकालाई निर्वाचन प्रचारमा प्रयोग गर्न रोक लगाइएको छ। सार्वजनिक आवागमनमा अवरोध गर्ने गरी जुलुस, आमसभा, कोणसभा, बैठक वा अन्य प्रचारप्रसार गर्ने गतिविधि गर्न नपाइने र सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न समेत निषेध गरिएको छ ।
निर्वाचन आयोगले मतदातालाई सचेत रहन र आचारसंहिता उल्लंघन भए तत्काल रिपोर्ट गर्न आग्रह गरेको छ।