राष्ट्रियसभामा सिट संख्यामा सहमति जुट्न नसकेपछि नेकपा माओवादी केन्द्र नयाँ समिकरणबाट बाहिरिएको छ । माओवादीसँग सहमति हुन नसकेपछि नेकपा एमाले, नेपाली कांग्रेस र मधेशी दलबीच मात्रै नयाँ राजनीतिक समिकरण बनेको हो ।
मंगलबार कांग्रेसलाई ७, एमाले ७, माओवादी ३ र लोसपा/जसपालाई १ सिट दिने विषयमा मोटामोटी सहमति भएको थियो । तर माओवादीभित्रको आन्तरिक समिकरण मिलाउन न्यूनतम ४ सिट आवश्यक पर्ने माग आएपछि उक्त सहमति टुटेको स्रोतको भनाइ छ ।
त्यसपछि बुधबार बिहान कांग्रेस, एमाले र मधेशी दलबीच नयाँ सहमति भएको हो। नयाँ सहमतिअनुसार कांग्रेसले ९, एमालेले ८ र जसपा/लोसपाले १ सिट पाउनेछन् । लोसपाको तर्फबाट महन्थ ठाकुरको नाम सिफारिस गरिएको छ ।
यसैबीच, आज बिहान बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवारसमेत टुंगो लगाएको छ ।
कांग्रेसका तर्फबाट सिफारिस उम्मेदवारहरू:
कोशी प्रदेश: सुनिलबहादुर थापा
मधेश प्रदेश: धर्मेन्द्र पासवान, कर्ण रञ्जित
वाग्मती प्रदेश: गीता देवकोटा
गण्डकी प्रदेश: जगत तिमिल्सेना
लुम्बिनी प्रदेश: चन्द्र केसी, बासुदेव जंगली
कर्णाली प्रदेश: ललितजंग शाही
सुदूरपश्चिम प्रदेश: खम्बबहादुर खाती
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। यस निर्वाचनमार्फत राष्ट्रियसभामा रिक्त हुने कुल १८ सदस्य चयन गरिनेछ ।
निर्वाचन आयोगले यसअघि पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको थियो भने मंगलबार दावी–विरोध टुंग्याएर अन्तिम मतदाता नामावलीसमेत सार्वजनिक गरिसकेको छ ।