नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले यही पुस २७ र २८ गते विशेष केन्द्रीय महाधिवेशन आयोजना गर्ने घोषणा गरेका छन् ।
विशेष महाधिवेशन माग गर्दै प्रस्ताव दर्ता गरेका ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले नयाँबानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन् ।
कार्यक्रममा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “पार्टी विधानको मर्म र भावनालाई पूर्ण सम्मान गर्दै यही पुस २७ र २८ गते काठमाडौंमा हुन गइरहेको विशेष महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह गर्दछौं । आवश्यक व्यवस्थापकीय तयारी तीव्र गतिमा भइरहेको जानकारी दिन चाहन्छौं ।”
विशेष महाधिवेशन पुस २७ गते भृकुटीमण्डपमा उद्घाटन हुनेछ र त्यसपछिका विभिन्न कार्यक्रमका लागि उपसमितिहरू गठन गरिएको छ ।
प्रेस विज्ञप्तिमा उल्लेख छ कि वर्तमान जटिल राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई थप सुदृढ, गतिशील र जनभावनासँग अनुकूल बनाउन, समसामयिक नीति निर्माण गर्न तथा नयाँ ऊर्जा र नेतृत्वसहित पार्टी पुनर्निर्माण गर्न विशेष महाधिवेशन अपरिहार्य भएको ठहर गरिएको छ ।
पार्टी विधानको धारा १७(२) अनुसार केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा कम्तीमा ४० प्रतिशत सदस्यले लिखित अनुरोध गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यकारी व्यवस्था छ। त्यसैले यो महाधिवेशन विधानसम्मत र अपरिहार्य भएको बताइएको छ ।
कार्यक्रमका आयोजकहरूले पार्टीका सबै तह र निकायका पदाधिकारी, देश–विदेशमा रहेका सदस्य, शुभेच्छुक र सञ्चार जगत्को सक्रिय सहभागिता सुनिश्चित गरिने अपेक्षा व्यक्त गरेका छन् ।
पार्टीले यो विशेष महाधिवेशनलाई भव्य र सार्थक बनाउन आन्तरिक एकता र विधानको सर्वोच्चता कायम राख्ने बताएका छन् ।