आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली सेनाले ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका लागि एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भइसकेको र राष्ट्रपतिबाट स्वीकृत भइसकेकाले सोहीअनुसार सेना परिचालन हुने जानकारी दिएका छन् ।
बस्नेतका अनुसार, “निर्वाचनका लागि एकीकृत सुरक्षा योजनाले मार्गनिर्देशन गरेअनुसार निर्वाचनको एक महिना अघि फिल्डमा सेना परिचालन हुनेछ ।” योजना सरकारबाट अनुमोदन भइसकेको छ भने सेनाको परिचालन राष्ट्रिय सुरक्षा परिषद्बाट पनि स्वीकृत भइसकेको छ ।
निर्वाचनका सिलसिलामा सेनाले तीन चरणमा काम गर्नेछ । निर्वाचनपूर्वको मुख्य जिम्मेवारीमा मतपत्र छपाइ सुरक्षा र महत्वपूर्ण संरचनाको सुरक्षा समावेश छ । नेपाली सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको समन्वयमा विमानस्थल, कारागार र अन्य महत्वपूर्ण संरचनाको सुरक्षा सुनिश्चित गर्नेछ ।
साथै, सेनाले चारवटा सुरक्षा निकाय र जिल्ला प्रशासनसँग समन्वय गरी तल्लो तहसम्म निर्वाचनसँग सम्बन्धित एकीकृत तालिम र अभ्यास सञ्चालन गर्नेछ । यसको उद्देश्य निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न होस् भन्ने सुनिश्चित गर्नु हो ।
मतदानका समयमा नेपाली सेना तेस्रो सुरक्षा घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीलाई सुरक्षा सुनिश्चित गर्नेछ । विगतमा जस्तै आगामी निर्वाचनमा पनि सेना देशभर विभिन्न स्थलमा सुरक्षा वेश स्थापना गर्ने तयारीमा छ ।
फागुन २१ गते मतदान सकिएसँगै मत पेटिकाको ढुवानीदेखि मतगणनास्थलको सुरक्षा समेत सेनाले सम्हाल्नेछ । हाल प्रदेशस्तरमा सुरक्षा गोष्ठी सञ्चालन भइरहेको छ । गोष्ठीमा प्राप्त सुझावका आधारमा परिस्थितिको मूल्याङ्कन गरी सरकारले थप सुरक्षा प्रबन्ध मिलाउनेछ ।
नेपाली सेनाले सबै सुरक्षा फौज, स्थानीय प्रशासन र जनप्रतिनिधिसँगको समन्वय र सहकार्यमा निर्वाचन सुरक्षा प्रदान गर्न पूर्ण तयारी गरेको जनाएको छ ।