जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालबीच पार्टी एकताका लागि १२ बुँदे सहमति भएको छ । आइतबार सम्पन्न सहमतिअनुसार ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन गरिएको छ ।
समन्वय समितिको संरक्षकमा महन्थ ठाकुर चयन भएका छन् भने अध्यक्षको जिम्मेवारी उपेन्द्र यादवलाई दिइएको छ । साथै, समितिले ११ सदस्यीय सचिवालय गठन गर्ने व्यवस्था गरिएको छ ।
सहमति पत्रमा उल्लेख भएअनुसार एकीकृत पार्टीको नाम ‘जनता समाजवादी पार्टी (जसपा) नेपाल’ रहनेछ । पार्टीको थप एकीकरण प्रक्रिया प्रचलित कानुनअनुसार अघि बढाइनेछ। पार्टी एकता पूर्ण नहुँदासम्म केन्द्रीय समन्वय समितिले पार्टी सञ्चालन गर्नेछ ।
दुवै पार्टीका भातृ संगठन, शुभेच्छुक संगठन तथा विभागहरू जसपा नेपालअन्तर्गत रही केन्द्रीय समन्वय समितिको मातहतमा रहनेछन् । पार्टी एकता र समायोजन प्रक्रिया पूरा नहुन्जेलसम्म दुवै पार्टीका अन्य संगठन तथा विभागहरू पनि आ–आफ्नो जिम्मेवारीअनुसार समन्वय समितिको मातहतमा रहेर काम गर्ने सहमति भएको छ ।
फागुन २१ गते हुने चुनावका लागि उम्मेदवार चयन गर्दा संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवको संयुक्त हस्ताक्षर रहने सहमति गरिएको छ । यसैगरी, राष्ट्रिय सभा सदस्यका लागि जसपा नेपालले दिएको उम्मेदवारी फिर्ता लिने विषय पनि सहमतिपत्रमा समावेश गरिएको छ ।
त्यस्तै, एकीकृत पार्टीको झण्डा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको रहने सहमति पनि गरिएको छ ।