आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्ने भएका छन् ।
निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दलहरूले यही पुस १३ र १४ गते पेस गरेको बन्दसूची अन्तर्गत रहेका उम्मेदवारहरूले आयोगबाट स्वीकृत कार्यतालिकाअनुसार आफ्नो नाम फिर्ता लिन पाउने छन् ।
निर्वाचन आयोगका समानुपातिक निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार यस सम्बन्धमा सबै सम्बन्धित उम्मेदवारलाई जानकारी गराइसकिएको छ ।
आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने व्यवस्था गरिएको छ ।
बन्दसूचीमा समावेश भएका उम्मेदवारले नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–१८ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ ।
कुनै कारणले उम्मेदवार स्वयं उपस्थित हुन नसकेमा वारेसमार्फत पनि उम्मेदवारी फिर्ता लिन निवेदन दिन सकिने आयोगले जनाएको छ ।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ ।