नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले थापा र शर्मासहित सहमहामन्त्री फरमुल्ला मन्सुरलगायतलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो । बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्ने नेताहरूलाई आ–आफ्नो भूमिकामा फर्किनसमेत निर्देशन दिएको छ। पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको पार्टीले जनाएको छ ।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनलाई बेवास्ता गरिएको भन्दै महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए । तर, उनीहरू सहभागी रहेको केन्द्रीय समितिको बैठकले नियमित महाधिवेशन पुसमा सम्भव नभएपछि वैशाखमा गर्ने सहमति गरेको थियो। उक्त निर्णयमा महामन्त्रीद्वयले फरक मत राख्दै आएका थिए ।
विशेष महाधिवेशन आह्वान गरेका थापा र शर्माले बन्द सत्रको हलले गरेको निर्णय नै अन्तिम हुने दाबी गर्दै निर्वाचन समिति गठन गरी चुनावी प्रक्रिया अघि बढाएका थिए ।
पार्टी विभाजन रोक्ने उद्देश्यले विभिन्न चरणमा नेताहरूबीच छलफलसमेत भएको थियो। मंगलबार मात्रै नेताहरूले तीन चरणमा छलफल गरेका थिए । आज बिहान पनि महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए। तर, उक्त छलफलबाट पनि कुनै निकास ननिस्किएको जनाइएको छ ।
छलफल असफल भएपछि विशेष पक्षका महामन्त्रीद्वयले निर्वाचन समितिलाई कारबाही अघि बढाउन निर्देशन दिएका थिए। सोहीअनुसार सभापति पदमा गगन थापाको नाम दर्ता गरिएको निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार अन्य पदाधिकारीका लागि पनि मनोनयन प्रक्रिया अघि बढिसकेको छ ।