सानेपामा बसेको शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरमाथि कारबाही गर्ने निर्णय गरेसँगै कानुनी परामर्श प्रक्रिया सुरु गरेको छ ।
कारबाहीको निर्णयपछि कानुनी जटिलता र वैधताका विषयमा परामर्श लिन देउवाले वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती र उपेन्द्रकेशरी न्यौपानेसहितका कानुन व्यवसायीलाई सानेपामा बोलाएका हुन् ।
केन्द्रीय कार्यसमिति बैठक लगत्तै विशेष महाधिवेशनको कानुनी हैसियत, पार्टी विधानअनुसार कारबाहीको वैधता तथा पार्टीको आगामी कानुनी र राजनीतिक बाटोबारे राय लिन कानुन व्यवसायीसँग छलफल गरिएको बताइएको छ ।
संस्थापन पक्षको आज बसेको बैठकले भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनमा सहभागी भएका नेताहरूलाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा कारबाही गर्ने निर्णय गरेको हो ।
उक्त विशेष महाधिवेशनले सभापतिमा गगन थापा तथा महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेललाई चयन गर्ने प्रक्रिया अगाडि बढाएको छ । यससँगै नेपाली कांग्रेस औपचारिक रूपमा विभाजनको दिशातर्फ उन्मुख भएको राजनीतिक वृत्तमा चर्चा छ ।