राष्ट्रिय लिग २०८२ मा एपीएफ फुटबल टोलीले लगातार दोस्रो जित निकाल्दै राम्रो सुरुवात गरेको छ । बिहीबार च्यासल मैदानमा भएको खेलमा एपीएफले चर्च ब्वाइजलाई ४–१ ले हराएको हो ।
यो जितसँगै एपीएफले दुई खेलबाट ६ अंक जोडेको छ । चर्च ब्वाइज भने दुई खेलमा एक अंकमा सीमित रह्यो ।
खेलमा एपीएफका लागि युवराज खड्काले ६० र ७७ औँ मिनेटमा दुई गोल गर्दै टोलीलाई विजयी बनाउन योगदान दिए । त्यसअघि पहिलो हाफमा समराज थोकरले २२ औँ र प्रदीप लामाले ३८ औँ मिनेटमा गोल गरेका थिए । चर्च ब्वाइजका तर्फबाट मिलन राईले ८२ औँ मिनेटमा एक गोल फर्काए ।
यस खेलसँगै राष्ट्रिय लिगको दोस्रो चरणका सबै खेल समाप्त भएका छन् ।