महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत जिम्बावेविरुद्धको खेलमा नेपालले पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ ।
शनिबार त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय रंगशाला, कीर्तिपुरमा सम्पन्न टसमा नेपालकी कप्तान इन्दु बर्माले जित हात पार्दै जिम्बावेलाई पहिला ब्याटिङका लागि आमन्त्रण गरेकी हुन् । नेपाल र जिम्बावेबीच यो पहिलो पटकको प्रतिस्पर्धा हो ।
सुपर सिक्स चरणमा पुग्ने सम्भावनालाई कायम राख्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब रहेको छ । पहिलो पटक ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा सहभागी भएको नेपाल पहिलो जितको खोजीमा रहेको छ ।
यस खेलमा नेपालले काजोल श्रेष्ठको स्थानमा रोमा थापालाई टोलीमा समावेश गरेको छ । रोमा थापाले विकेटकिपिङ तथा ब्याटिङको जिम्मेवारी सम्हाल्नेछिन् ।
नेपाल यसअघि खेलेका दुई खेलमा पराजित भइसकेको छ । नेपाल थाइल्यान्डसँग ८ विकेटले र नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । उता, जिम्बावे भने पहिलो तीनै खेलमा पराजित भइसकेपछि सुपर सिक्समा पुग्ने सम्भावनाबाट बाहिरिसकेको छ । जिम्बावे यस प्रतियोगितामा नेदरल्यान्ड्स, थाइल्यान्ड र स्कटल्यान्डसँग पराजित भएको थियो ।