बाह्रै महिना हिउँले ढाकिने अन्टार्टिका महादेशमा नेपाली परम्परागत पोसाक दौरा–सुरुवाल लगाएर म्याराथन पूरा गरी नेपाली मूलका अमेरिकी धावक बाल जोशीले नयाँ कीर्तिमान कायम गरेका छन् ।
जोशीले वर्ल्ड म्याराथन च्यालेञ्जअन्तर्गत शनिबार अन्टार्टिकामा सम्पन्न पहिलो म्याराथन पूरा गर्दै इतिहास रचेका हुन् । उनी दौरा–सुरुवालमै अन्टार्टिकामा म्याराथन पूरा गर्ने पहिलो धावकसमेत बनेका छन् ।
कठ्याङ्ग्रिँदो माइनस २० डिग्री सेल्सियस तापक्रममा शनिबार बिहान जोशीले ४२ किलोमिटर लामो म्याराथन सफलतापूर्वक पूरा गरे । नेपाली पोसाकमा हिउँमाथि दौडिएका उनले अन्त्यमा नेपाली र अमेरिकी झण्डा फहराउँदै आफ्नो सफलताको उत्सव मनाएका थिए ।
अन्टार्टिकाको स्थानीय समयअनुसार बिहान ३ बजे म्याराथन सुरु भएको थियो । हिउँमा दौरा–सुरुवाल लगाएर दौडिनु असम्भवजस्तै मानिने चुनौतीलाई उनले सहजै पूरा गरेको प्रतिक्रिया दिएका छन् ।
शनिबारबाट सुरु भएको वर्ल्ड म्याराथन च्यालेञ्ज ‘७७७’ को पहिलो चरणमा ३२ देशका ५६ धावक सहभागी थिए, जसमध्ये जोशी पनि एक हुन् ।
सन् २०१५ देखि प्रत्येक वर्ष सञ्चालन हुँदै आएको यो म्याराथन विश्वकै सबैभन्दा चुनौतीपूर्ण प्रतियोगितामध्ये एक मानिन्छ । सातै महादेशमा सात दिनसम्म लगातार आयोजना हुने भएकाले यसलाई ‘७७७ म्याराथन’ भनिन्छ ।
नेपाली सम्पदा, पहिचान र संस्कृतिको विश्वव्यापी प्रचारका लागि आफूले दौरा–सुरुवाल लगाएर म्याराथनमा सहभागिता जनाएको जोशीले बताएका छन् ।
अन्टार्टिकाको म्याराथन पूरा गरेपछि जोशी अफ्रिकाको केप टाउन पुगेका छन् । उनी फेब्रुअरी १ (आइतबार) त्यहाँ आयोजना हुने दोस्रो म्याराथनमा सहभागी हुने कार्यक्रम रहेको छ ।
अन्टार्टिकाबाट सुरु भएको यो म्याराथन सातौं दिनमा अमेरिकाको मायामीमा समापन हुनेछ । कार्यक्रमअनुसार अन्टार्टिकामा पहिलो (३१ जनवरी), केप टाउनमा दोस्रो (१ फेब्रुअरी), अष्ट्रेलियाको पर्थमा तेस्रो (२ फेब्रुअरी), दुबईमा चौथो (३ फेब्रुअरी), स्पेनको म्याड्रिडमा पाँचौं (४ फेब्रुअरी), ब्राजिलमा छैटौं (५ फेब्रुअरी) र अमेरिकाको मायामीमा सातौं तथा अन्तिम म्याराथन (६ फेब्रुअरी) आयोजना हुने छ ।
सुर्खेतमा जन्मिएका ४१ वर्षीय जोशी विगत दुई दशकदेखि अमेरिकामा बस्दै आएका छन् । टेक्सास राज्यको ड्यालस–फोर्टवर्थ मेट्रोप्लेक्स अन्तर्गत ग्रेपभाइन सिटीमा बसोबास गर्ने उनी पेसाले बैंककर्मी हुन् ।
स्वास्थ्यका लागि दौडिन सुरु गरेका जोशी सन् २०२१ देखि सामाजिक सेवा तथा मानव कल्याणका लागि विभिन्न म्याराथनमा सहभागी हुँदै आएका छन् । उनले यसअघि विश्वका विभिन्न देशमा आयोजित झण्डै दुई दर्जनभन्दा बढी म्याराथन पूरा गरिसकेका छन् ।