नेपाल रेडक्रस सोसाइटीले आसन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा चुनावी प्रचारप्रसारमा रेडक्रसको चिह्न प्रयोग नगर्न आग्रह गरेको छ ।
रेडक्रसको चिह्न जेनेभा महासन्धिअनुसार अन्तर्राष्ट्रिय रूपमा संरक्षित मानवीय सेवाको प्रतीक भएकाले यसलाई राजनीतिक, धार्मिक वा वैचारिक उद्देश्यका लागि प्रयोग गर्न निषेध गरिएको जनाइएको छ । आज महामन्त्री मीनबहादुर मल्लद्वारा जारी विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको हो ।
विज्ञप्तिमा भनिएको छ, “आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको समर्थन वा विरोध जनाउने उद्देश्यले रेडक्रसको चिह्न, नाम, चिह्न अंकित पोसाक वा पहिचान प्रयोग गरिएमा यसले रेडक्रस अभियानको निष्पक्षता, तटस्थता, स्वाधीनता र विश्वसनीयतामा गम्भीर असर पार्नेछ ।”
रेडक्रसले आफ्ना स्वयंसेवक तथा कर्मचारीलाई कुनै पनि चुनावी प्रचारप्रसारमा रेडक्रस चिह्न अंकित सामग्री प्रयोग गरी संलग्न नहुन आग्रह गरेको छ । साथै, यदि कुनै पदाधिकारी निर्वाचनमा उम्मेदवार भएमा रेडक्रसबाट अलग भएको औपचारिक घोषणा गर्न पनि अनुरोध गरिएको छ ।
त्यसैगरी, रेडक्रसले आफ्ना पदाधिकारी तथा कर्मचारीलाई कुनै पनि राजनीतिक दल, उम्मेदवार वा व्यक्तिको पक्ष वा विपक्षमा समर्थन वा विरोध नगर्न निर्देशन दिएको छ । सामाजिक सञ्जाल, सार्वजनिक कार्यक्रम, प्रदर्शन वा अन्य कुनै माध्यमबाट रेडक्रस अभियानलाई राजनीतिक रूपमा नजोड्न तथा संस्थाको सम्पत्ति, स्थान र कार्यालय कुनै पनि राजनीतिक दलको प्रचारप्रसारमा प्रयोग नगर्न पनि अनुरोध गरिएको छ ।