वीरगन्ज महानगरपालिकाले नागरिकघण्टाघर छेउको विपी उद्यान परिसर खाली गरी हरित पार्क निर्माणको काम सुरु गरेको छ । सोमबारदेखि वृक्षारोपण कार्य थालिएको हो ।
वृक्षारोपण कार्यको शुभारम्भ वीरगन्ज महानगरपालिका मेयर राजेशमान सिंह ले गरेका थिए । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल को पनि विशेष उपस्थिति थियो ।
कार्यक्रम ग्रीनसिटी सामुदायिक सेवा केन्द्रको सहयोगमा सञ्चालन भएको थियो । वृक्षारोपणको पहिलो दिन अतिक्रमण खाली गराइएको जग्गाको पर्खाल छेउमा विभिन्न प्रजातिका रुखहरू रोपिएका छन् ।
मेयर राजेशमान सिंहले घण्टाघर क्षेत्र वीरगन्जको पहिचान र ऐतिहासिक केन्द्र भएकाले यसलाई स्वच्छ, हरियाली र सौन्दर्यपूर्ण बनाउनु महानगरपालिकाको प्राथमिकतामा रहेको बताए । उनले थपे, विपी उद्यान क्षेत्रलाई सार्वजनिक विश्रामस्थल तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न हरित पार्क निर्माण गरिने योजना छ ।