राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा–१ का उम्मेदवार हरि पन्तले मधेस आन्दोलनका सहिद दिलिप चौरसियाका परिवारसँग भेटघाट गरेका छन् । आज जगरनाथपुरमा आयोजित पार्टीको घरदैलो कार्यक्रममा पन्तले सहिद दिलिप चौरसियाका आमा रामज्योती देवी र दाजु पृथ्वी नारायण चौरसियासँग प्रत्यक्ष संवाद गरेका हुन् ।
भेटघाटका क्रममा सहिद परिवारले मधेसबादी दलका नेताहरूले मधेस आन्दोलनको नाममा आफ्नो राजनीतिक लाभ लिने क्रममा मधेसीको हित र आन्दोलनको मूल्यमा उपहास गरेकोमा दुःख व्यक्त गरेका थिए । सहिद परिवारले अब रास्वपालाई पूर्ण समर्थन दिने समेत बताएका छन् ।
हरि पन्तले भेटमा मधेस आन्दोलनका सहिदहरुलाई जेन्जी आन्दोलनका सहिद सरह सम्मानजनक व्यवहार दिलाउन राज्यलाई आग्रह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आजको घरदैलो कार्यक्रम बिरगंज–२२, जगरनाथपुरमा आयोजना गरिएको थियो । कार्यक्रमको सुरुवात श्रीराम जानकी मन्दिरमा पूजा–अर्चना गरेर गरिएको थियो । त्यसपछि जगरनाथपुर चौकबाट कार्यक्रम प्रारम्भ भई वडाभित्रका विभिन्न टोलहरूमा सञ्चालन भएको थियो ।
उम्मेदवार पन्तले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै रास्वपा पार्टीको नीति, उद्देश्य र प्रतिबद्धता बारे जानकारी दिएका थिए । कार्यक्रमका क्रममा स्थानीयले शिक्षा, रोजगारी, खानेपानी, सरसफाइ, सडक, स्वास्थ्य र सुशासनसँग सम्बन्धित समस्या र सुझावहरू राखेका थिए । पन्तले ती समस्यालाई नोट गर्दै समाधानमुखी पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
घरदैलो कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ता, स्थानीय युवा, महिला तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।