बिन्दवासिनी गाउँपालिकामा दलित तथा विपन्न समुदायको लागि सञ्चालन भइरहेको आवास निर्माण योजनामा अनियमितता भएको भन्दै दलित महिलाहरुले गाउँपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
संघीय सरकारबाट प्राप्त १ करोड १० लाख रुपैयाँको अनुदानमा बिन्दवासिनी गाउँपालिकाले दलित तथा विपन्नका लागि टेन्डर आह्वान गरी ठेक्का लगाइसकेको छ । तर लाभग्राही समुदायले भने आफूहरुलाई कुनै जानकारी नै नगराई आवास निर्माण प्रक्रिया अघि बढाइएको भन्दै आपत्ति जनाएका छन् ।
बुधबार वडा नम्बर २, बहुअर्वाभाठाका दलित महिलाहरुले गाउँपालिका कार्यालय अगाडि प्रदर्शन गर्दै, सूचना प्राप्त गर्ने अधिकार अन्तर्गत निवेदन बुझाएका छन् । उनीहरुले आवास निर्माण योजनासम्बन्धी बजेटको परिमाण, लाभग्राही छनोट प्रक्रिया, छनौट गरिएका लाभग्राहीको विवरण, र निर्माण हुने भवनको अन्तिम स्वामित्वबारे लिखित जानकारी उपलब्ध गराउन माग गरेका छन् ।
प्रदर्शनकारी महिलाहरुले गाउँपालिकाले अनियमितता गर्दै निर्माण प्रक्रिया अघि बढाएको आरोप लगाउँदै, यसलाई तत्काल रोक्न पनि आग्रह गरेका छन् । उनीहरुको भनाइ अनुसार, लाभग्राही छनोटमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले वास्तविक लाभग्राहीको सट्टा नक्कली व्यक्तिहरु समावेश गरेको आरोप छ ।
यसअघि पनि वडा नम्बर २ का पूर्व वडाध्यक्ष सन्जय चौहानले सूचना हक प्रयोग गर्दै निवेदन दिएका थिए। तर, उनका अनुसार उक्त निवेदनको कुनै सुनुवाई भएको छैन । गाउँपालिका अध्यक्ष प्रमोद तिवारीसँग सम्पर्क गर्न खोज्दा उनले फोन उठाउन अस्वीकार गरेका थिए ।