राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्रीका उम्मेदवार तय गरिएका वरिष्ठ नेता बालेन शाह फागुनको पहिलो हप्तादेखि संयुक्त रूपमा देश दौडाहामा निस्कने भएका छन् ।
पार्टीकी सहप्रवक्ता प्रतिभा रावलका अनुसार कम्तीमा सातै प्रदेशमा ठूला चुनावी सभा गर्ने गरी तयारी भइरहेको छ । ‘सात प्रदेशमा ठूला सभा गर्ने गरी तयारी भइरहेको छ । सचिवालयले त्यसको खाका बनाइरहेको छ,’ उनले भनिन् । उपसभापति डिपी अर्यालले उक्त कार्यक्रमको संयोजन गरिरहेका छन् । सभा हुने स्थान भने हालसम्म तय भइनसकेको उनले जानकारी दिइन् ।
यसअघि वरिष्ठ नेता बालेन शाह कोशी प्रदेशका तराई तथा पहाडी जिल्लाको भ्रमणपछि सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भाग घुम्दै पुनः झापा पुगेका थिए । झापामा आफ्नो निर्वाचन क्षेत्र झापा–५ का मतदातासँग भेटघाट गरेपछि उनी कोशी प्रदेशकै पहाडी जिल्ला उदयपुर र खोटाङ पुगेका छन् । हाल उनी त्यही क्षेत्रमा रहँदै पार्टीका उम्मेदवार, निर्वाचन परिचालन समितिका पदाधिकारी, सदस्य तथा मतदातासँग भेटघाटमा सक्रिय रहेका छन् । उनी केही दिन सोही क्षेत्रमै व्यस्त रहने बताइएको छ ।
यसैबीच, सभापति रवि लामिछाने पनि आजदेखि आफ्नो निर्वाचन क्षेत्र चितवनतर्फ प्रस्थान गर्ने भएका छन् । उम्मेदवारी दर्ताका दिन सहकारीसम्बन्धी मुद्दामा तारेख धाउनुपर्ने भएकाले उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका थिए । त्यसपछि खुट्टामा समस्या देखिएपछि केही समय घरमै आराम गरिरहेका लामिछाने आजबाट पुनः चुनावी गतिविधिमा सक्रिय हुन लागेका हुन् ।
सहप्रवक्ता रावलका अनुसार सभापति लामिछाने आज बिहान ११ बजेर १५ मिनेटमा चितवन पुग्ने कार्यसूची रहेको छ । दिउँसो १२ बजेर १५ मिनेटमा भरतपुर–लंकुस्थित लक्ष्मीनारायण मन्दिरमा पूजा कार्यक्रममा सहभागी हुनेछन् ।
रास्वपाले चितवन–२ को निर्वाचन प्रयोजनका लागि भरतपुर–११ विशालचोकमा भाडामा लिएको निवासमा आज गृहप्रवेश गर्ने कार्यसूचीसमेत तय गरिएको छ । दिउँसो २ बजेपछि सोही निवासमा निर्वाचन परिचालन समिति, अन्य उम्मेदवार, नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको सहप्रवक्ता रावलले जानकारी दिइन् ।