मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । नेपाल प्रहरीले उनलाई काठमाडौंको चाल्नाखेल क्षेत्रबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसरका एक अधिकृतले प्रसाईंलाई पक्राउ गरिएको पुष्टि गरे पनि उनीमाथि के अभियोग लगाइएको हो भन्ने विषयमा भने खुलाइएको छैन ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजकसमेत रहेका प्रसाईं यसअघि गत माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए । सार्वजनिक शान्तिविरुद्धको कसुरमा माघ ५ गते पोखराबाट पक्राउ परेर काठमाडौँ ल्याइएका उनलाई प्रहरीले अदालतबाट अनुमति लिएर अनुसन्धान गरेको थियो ।
यसअघि प्रसाईंले नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सभापति गगन थापा पक्षले निर्वाचन आयोगमा रकम बुझाएर आधिकारिकता लिएको दाबी गर्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । सो विषयमा अनुसन्धान गर्न निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेको थियो ।
हाल प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ ।