निर्वाचन आयोगले विभिन्न २५ जिल्लामा प्रत्यक्षतर्फको मतपत्रको छपाइ र प्याकिङको काम सम्पन्न भइसकेको जनाएको छ ।
आयोगका अनुसार डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेलधुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुंगा र सुनसरी गरी २५ जिल्लाको मतपत्र छपाइ र प्याकिङ सम्पन्न भएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ पनि सकिएको छ। यसका लागि कुल २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ र ढुवानीका लागि तयार गरिएको छ ।
प्रत्यक्षतर्फ दुई करोड ३ लाख २३ हजार मतपत्र छपाइ गर्नुपर्नेछ। माघ १६ गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भएको थियो । यस क्रममा १० लाख ९८ हजार २०० बराबरको नमूना मतपत्र छपाइ गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जानकारी दिएको छ ।
मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको छ भने प्याकिङ क्रमशः भइरहेको छ । यस काम जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छ ।