नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी ट्वान्टी–२० विश्वकपका लागि तयार भएको छ । आसिफ शेख र सन्दीप जोराको उत्कृष्ट साझेदारीमा नेपालले बिहीबार दोस्रो तथा अन्तिम अभ्यास खेलमा क्यानडालाई ६ विकेटले पराजित गरेको हो ।
नेपालले मंगलबार भएको पहिलो अभ्यास खेलमा यूएईलाई ७ विकेटले हराएको थियो। अब आइतबार इंग्ल्यान्डसँग विश्वकपको यात्रा सुरु गर्दैछ ।
चेन्नईको एमए चिदम्बरम रंगशालामा नेपालले १ सय ६२ रनको लक्ष्य १८.४ ओभरमा पूरा गर्यो । ओपनर आरिफले ५८ र जोराले ४४ रन बनाए । यी दुईले दोस्रो विकेटमा ५२ बलमा ८४ रनको साझेदारी गरे । आसिफले २९ बलमा ६ चौका र ३ छक्का प्रहार गरे भने जोराले ३० बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
उपकप्तान दीपेन्द्रसिंह ऐरीले कप्तानी गर्दै ९ रनमा अविजित रहे । गुलशन झाले ३१ रनको अविजित इनिङ्स खेले । नेपालबाट सन्दीप लामिछाने र कुशलले २–२ विकेट लिए ।
क्यानडाले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । नवनित ढालिवालले सर्वाधिक ४१ रन बनाए । जसकरणले ११ बलमा २१ रनमा ३ छक्का प्रहार गरे ।
नेपाल टोली शुक्रबार चेन्नईबाट मुम्बई प्रस्थान गर्नेछ । क्यानडा पनि ट्वान्टी–२० विश्वकपको तयारीका लागि अमेरिकी क्षेत्रका सबै ६ खेल जितेर आइपुगेको छ ।