ट्वान्टी–२० विश्वकप क्रिकेट अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । मुम्बईस्थित वानखेडे क्रिकेट रंगशालामा भएको टस जित्दै इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
रोहित पौडेलको कप्तानीमा नेपालबाट कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुलशन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने मैदानमा उत्रिएका छन् ।
त्यस्तै इंग्ल्यान्डबाट कप्तान ब्रुकसहित फिल सल्ट, जोस बटलर, ज्याकोब बेथल, टम बान्टन, साम करन, विल ज्याक्स, लिएम डावसन, जोफ्रा आर्चर, आदिल रशिद र लुक उड खेलिरहेका छन् ।
अघिल्लो दिन वानखेडेको यही पिचमा भारतले अमेरिकालाई पराजित गर्न निकै संघर्ष गर्नुपरेको थियो । कप्तान सूर्यकुमार यादवले ४९ बलमा अविजित ८४ रन बनाएपछि मात्र भारतले अमेरिका विरुद्धको खेल २९ रनले जित्न सफल भएको थियो । सोही पिचमा नेपाल र इंग्ल्यान्डबीचको खेल भइरहेको हो ।
विश्वकपअघि चेन्नईमा भएको दुई आधिकारिक अभ्यास खेलमा यूएई र क्यानडालाई पराजित गर्दै नेपाली टोली शुक्रबार मुम्बई पुगेको थियो । नेपाल र इंग्ल्यान्ड पहिलो पटक विश्वकपमा एक–अर्काविरुद्ध प्रतिस्पर्धा गरिरहेका छन् ।
नेपालले तेस्रो पटक ट्वान्टी–२० विश्वकपमा सहभागिता जनाइरहेको हो । यसअघि सन् २०१४ मा बंगलादेश तथा २०२४ मा श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्दै चार पटक टेस्ट राष्ट्रको सामना गरेको थियो । श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएको थियो भने अन्य खेलमा नेपाल पराजित भएको थियो ।
नेपालले ओमानमा अक्टोबरमा भएको एसिया तथा एसिया–प्यासिफिक छनोट प्रतियोगिताका सबै खेल जित्दै विश्वकपमा स्थान बनाएको हो । उता इंग्ल्यान्डले पछिल्लो वर्षदेखि ह्यारी ब्रुकको कप्तानीमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
खेल हेर्न नेपाली टोलीको समर्थनमा ठूलो संख्यामा दर्शक रंगशालामा उपस्थित छन् ।