अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित उच्चपदस्थ अधिकारीलाई धम्की दिएको आरोपमा फिलिपिन्समा पक्राउ परेका प्रकाश पाठकलाई नेपाल ल्याइएको छ ।
इन्टरपोलमा डिफ्युजन नोटिस जारी भइसकेका पाठकलाई फिलिपिन्सको ब्युरो अफ इमिग्रेसन (बीआई) अन्तर्गतको फरार अभियुक्त खोजी युनिटले मालोलोस सहरबाट पुसको तेस्रो साता पक्राउ गरेको थियो ।
कानुनी प्रक्रिया पूरा गरी अनुसन्धानका लागि बुधबार उनलाई काठमाडौं ल्याइएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । उनका अनुसार अब जिल्ला प्रहरी परिसर, काठमाडौंमार्फत थप अनुसन्धान अघि बढाइनेछ ।
जिल्ला अदालत, काठमाडौंले १ डिसेम्बर २०२५ मा आपराधिक विश्वासघातको कसुरमा पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
फिलिपिन्स अध्यागमन विभागको आधिकारिक वेबसाइटमा प्रकाशित विवरणअनुसार पाठकले फरार कैदीहरूलाई आत्मसमर्पण नगर्न उक्साउने, आर्थिक सहयोग गर्ने तथा हतियारमा पहुँच रहेको संकेत दिने अभिव्यक्ति दिएका थिए । साथै, उनी एक उच्चपदस्थ विदेशी सरकारी अधिकारीको हत्या गर्ने षड्यन्त्रसँग समेत जोडिएको पाइएको उल्लेख गरिएको छ ।
पाठकविरुद्ध लागेको आरोपबारे नेपाल प्रहरीद्वारा विस्तृत अनुसन्धान जारी रहेको छ ।