जिल्ला प्रहरी कार्यालय पर्साकाे फैसला कार्यान्वयन टोलीले फरार रहेका दुई अभियुक्तलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।
प्रहरीका अनुसार प्रमिला गिरीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला चितवन साविक शुक्रनगर–२ (हाल भरतपुर महानगरपालिका–२५) बस्ने अपिल बराल विरुद्ध दायर भएको बैंकिङ कसूर मुद्दा (०८०-C१-०४२८) मा अदालतबाट १५ लाख ७२ हजार रुपैयाँ जरिवाना तथा ३ दिन कैद सजाय तोकिएको थियो । घटनापछि फरार रहेका बराललाई भरतपुर महानगरपालिका–९ बसपार्क क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउपछि उनलाई सम्मानित पर्सा जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ ।
यसैगरी, प्रहरी प्रतिवेदनका आधारमा वादी नेपाल सरकार प्रतिवादी जिल्ला पर्सा कालिकामाई गाउँपालिका–३ हरिहरपुर बस्ने ललन पासवान विरुद्ध दायर लागुऔषध गाँजा तथा चरेस सम्बन्धी मुद्दा (०७७-C१-०३३३) मा पर्सा जिल्ला अदालतकाे २०७९ कात्तिक २२ गतेको फैसलाअनुसार १ वर्ष ६ महिना कैद सजाय तोकेको थियो । फरार रहेका पासवानलाई वीरगञ्ज महानगरपालिका–६ स्थित सडकखण्डबाट पक्राउ गरिएको हो । उनलाई पनि अदालतमा दाखिला गरिएको प्रहरीले जनाएको छ ।
पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार फरार अभियुक्तको खोजी तथा पक्राउ अभियानलाई तीव्र पारिएको छ । अदालतबाट सजाय तोकिएका अन्य व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने काम निरन्तर भइरहेकाे छ ।