पर्साको पर्सागढी नगरपालिका वडा नम्बर–९ एकटाँगामा रहेको तिलावे पुल पुनः एकपटक चुनावी बहसको केन्द्र बनेको छ ।
आगामी निर्वाचन नजिकिँदै जाँदा १२ वर्षदेखि अधुराे रहेकाे पुल निर्माणको नाममा पुनः काम सुरु गरेकाे जस्ताे गरेर भाेट बटुल्न काम गर्न लागेकाे भन्दै स्थानीयवासीले आक्राेश व्यक्त गरेका छन् । स्थानीयका अनुसार नदीको बीच भागमा अधुरो अवस्थामा रहेको पुल र छेउबाट बगिरहेको खोलाले वर्षौंदेखि पुलको वास्तविक अवस्था देखाइरहे पनि सम्बन्धित निकाय र नेतृत्व तहले यस विषयमा चासो नदेखाएको कारण यहाँका स्थानीयवासी सास्ती खेप्दै आएका छन् ।
हाल पुल पुनः निर्माण गरिने भन्दै डोजर राखेर प्लाइ खसाल्ने काम सुरु गरिएको स्थानीयले बताएका छन् । उनीहरूका अनुसार पटक–पटक चुनावी एजेन्डा बनेको तिलावे पुलको काम चुनावअघि मात्र सुरु हुने र चुनावपछि रोकिने प्रवृत्ति दोहोरिँदै आएको छ ।
स्थानीय बासिन्दाले यसअघि पनि पुल निर्माणको विषयमा विभिन्न आश्वासन पाएको तर काम पूरा नभएको गुनासो गरेका छन् । उनीहरूका अनुसार विगतमा निर्वाचित जनप्रतिनिधिले पुल निर्माणलाई प्राथमिकता दिने बताए पनि काम प्रभावकारी रूपमा अगाडि बढ्न सकेको थिएन ।
स्थानीयवासीले पुल निर्माण कार्य पारदर्शी र दिगो रूपमा सम्पन्न गर्न माग गर्दै केवल चुनावी देखावटी काम नगर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । उनीहरूले पुल निर्माण समयमै सम्पन्न भए यातायात, कृषि उत्पादन ढुवानी तथा स्थानीय जनजीवन सहज हुने बताएका छन् ।