महाशिवरात्रि पर्व नजिकिँदै जाँदा पशुपतिनाथ मन्दिर तथा आसपासका क्षेत्रमा दर्शनका लागि आउने साधुसन्तको चहलपहल बढ्न थालेको छ । हरेक वर्ष महाशिवरात्रिका अवसरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा साधुसन्त यहाँ आउने गरेका छन् ।
गुठी संस्थान ले यस वर्ष शुक्रबारदेखि नै महाशिवरात्रि पर्वसम्बन्धी कार्यक्रम सुरु गरिसकेको जनाएको छ । यस वर्ष फागुन ३ गते महाशिवरात्रि परे पनि संस्थानले शुक्रबारदेखि सुरु गरी फागुन ५ गतेसम्म पर्व सञ्चालन गर्ने जनाएको छ ।
महाशिवरात्रिका अवसरमा पर्व अवधिभर संस्थानले मन्दिर क्षेत्र तथा काठमाडौं का विभिन्न अखडामा बस्ने साधुसन्तका लागि सेवा व्यवस्थापन गरेको छ । जसअन्तर्गत दाउरा, भोजन, पूजा सामग्री तथा दक्षिणाको व्यवस्था गरिएको छ ।
फागुन ५ गते बिहान साधुसन्तलाई भोजन गराएपछि दक्षताअनुसार विभिन्न रङका कार्ड वितरण गरिने र सोही कार्डका आधारमा तोकिएको दरअनुसार दक्षिणा प्रदान गरी बिदाइ गरिने संस्थानले जनाएको छ ।
गत वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा दुई हजार ३८९ जना साधुसन्त आएका थिए। उनीहरूलाई वर्गीकरण गरी दक्षिणासहित बिदाइ गरिएको थियो ।
संस्थानका अनुसार गत वर्ष साधुसन्तलाई दक्षिणा वितरणमा मात्रै २० लाख ५८ हजार ६७१ रुपैयाँ खर्च भएको थियो ।