पर्सा प्रहरीले वीरगञ्जको आदर्शनगरस्थित एक अवैध गोदाममा छापा मार्दा सुरक्षा टोलीमाथि आक्रमण गर्ने ६ जनालाई नियन्त्रणमा लिएको छ ।
गत सोमबार मदन गुप्ताको गोदाममा भन्सार छलीका सामान बरामद गर्न गएको सशस्त्र प्रहरीमाथि स्थानीय व्यापारीहरूको समूहले आक्रमण गरेको थियो । सो झडपमा ३ जना सशस्त्र प्रहरी घाइते भएका थिए भने प्रहरीका दुईवटा सवारीसाधनमा क्षति पुगेको थियो ।
पक्राउ पर्नेहरूमा वीरगञ्ज–१० का प्रमोदकुमार कानु र कुञ्जन सर्राफ, वीरगञ्ज–१ का दिपराज सहनी मलाह, विन्दवासिनी–५ का श्रीचन्द्रप्रसाद साह र भारतीय नागरिक प्रभु महतो तथा पृतमकुमार चौधरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग र आपराधिक उपद्रो अन्तर्गत मुद्दा दर्ता गरिएको छ । जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको छ ।
सुरक्षा टोलीले उक्त गोदामबाट करिब १२ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको जनाएको छ ।