प्रतिनिधिसभा निर्वाचनको मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छपाइ बाँकी रहेको ५ लाख मतपत्र आज दिनभरमा छपाइ सम्पन्न हुने जनाएको छ ।
केन्द्रका कार्यकारी प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले मतपत्र छपाइ आजै सम्पन्न हुने जानकारी दिँदै, बागमती प्रदेशका लागि बाँकी ५ लाख मतपत्र आजै बेलुकीसम्म तयार हुने बताए । उनले प्रत्यक्षतर्फका २ करोड ३ लाख मतपत्र छपाइ गर्नुपर्नेमा बाँकी रहेको ५ लाख मतपत्र छपाइ आजै सकिने जानकारी दिए ।
पौडेलका अनुसार, भोलिसम्ममा सबै मतपत्र प्याकिङ गरी बाँकी जिल्लामा ढुवानी गर्ने प्रक्रिया पूरा गरिनेछ । केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै लक्ष्यभन्दा अगाडि नै काम गरेको उल्लेख गरिएको छ । छपाइ सम्पन्न १० लाख नमूना मतपत्र निर्वाचन आयोगले विभिन्न ठाउँमा पुर्याइसकेको छ ।
त्यसैगरी, समानुपातिकतर्फका २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ सम्पन्न भई जिल्ला–जिल्ला पठाउने कार्य जारी रहेको छ । पौडेलले कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि फागुन १२ गते सम्म पुर्याउने लक्ष्यसहित काम भइरहेको जानकारी दिएका छन् ।