राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान हुने बताएका छन् ।
सोमबार चितवनको कालिका नगरपालिका–३ मा स्थानीयसँगको छलफलमा लामिछानेले अहिले देशभर रास्वपाको पक्षमा माहोल बनेको भन्दै निर्वाचनपछि जनताको आशा अनुसार सरकार गठन हुनेमा विश्वस्त रहेको बताएका हुन् ।
उनले भने, “काम गर्दै गर्दा रातारात सरकार ढाल्ने काम भएको सबैलाई थाहा छ। आगामी निर्वाचनपछि बलियो सरकार बन्नेमा म विश्वस्त छु ।”
त्यसैगरी, उनले सरकारमा रहँदा जनताको समस्या समाधानका प्रयास गर्दा पनि केही पूर्णरूपमा समाधान हुन नसकेको स्वीकार गर्दै सुकुम्बासीको समस्या आयोग मार्फत दीर्घकालीन समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कालिका–३ का स्थानीयले सुकुम्बासी समस्या समाधानका लागि पटक–पटक आश्वासन पाउँदा पनि समाधान हुन नसकेको भन्दै लामिछानेको ध्यानाकर्षण गराएका थिए ।