प्रतिनिधिसभा निर्वाचन मिति नजिकिएसँगै नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचकमा सुस्तरी गिरावट देखिएको छ । राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू चुनावी प्रचार प्रसारमा गाउँगाउँ खटिएका कारण सेयर बजारमा पनि यसको असर देखिन थालेको हो ।
सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन तय गरेको छ । निर्वाचनको तयारीका क्रममा सेयरमा भएको लगानी बिक्री गर्ने प्रवृत्ति बढ्दा बजारमा रौनक घटेको बताइएको छ। एक ब्रोकरका अनुसार, “सेयर खरिदभन्दा पनि चुनावले बिक्री चाप बढाएको छ । निर्वाचनअघि बजार सकारात्मक हुने सम्भावना कम छ । निर्वाचनपछिका नतिजाका आधारमा मात्र बजारले प्रतिक्रिया दिनेछ ।”
फागुन महिनाको पहिलो दिन खुलेको नेप्से सूचकमा गिरावट देखियो । गत साता बिहीबार करिब ८ अंकले बढेको नेप्से सोमबार ८.१६ अंक घटेर २६६२.१० बिन्दुमा पुगेको छ । कारोबार सुरु हुँदा २६७१.०७ अंकमा रहेको सूचक दिनभरि घट्दो रह्यो ।
सोमबार १ सय ६३ कम्पनीको सेयर मूल्य घटेको छ भने ८६ कम्पनीको सेयर मूल्य बढेको छ । ९ कम्पनीको सेयर मूल्यमा भने परिवर्तन भएको छैन । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्स, बुद्धभूमि हाइड्रोपावर र सालपा विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।
समूहगत परिसूचकमा पनि गिरावट देखियो। बैंकिङ ०.७६, विकास बैंक २६.६६, जलविद्युत् ३६.७३, लगानी ०.६३, जीवन बीमा ५८.०५, लघुवित्त ११.४२, सामूहिक लगानी कोष ०.०४, निर्जीवन बीमा ५१.१३, अन्य १.७३ र व्यापार २५.५७ अंक घटेका छन् । तर, वित्त १३.७९, होटल ३१.६३ र उत्पादनमूलक ४४.८३ अंकले बढेको नेप्सेले जनाएको छ ।
सोमबार नेप्सेमा ३३५ कम्पनीको ८०,५५९ कारोबारबाट १ करोड ९६ लाख १६ हजार ३ सय ९५ कित्ता सेयर ७ अर्ब ९४ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ । यो रकम गत साता बिहीबारको तुलनामा कम हो, जब १० अर्बभन्दा बढीको सेयर किनबेच भएको थियो ।