सर्लाही को मलंगवा स्थित भौतिक पूर्वाधार विकास कार्यालयमा कार्यरत सब–इन्जिनियर प्रमोद कुमार यादवमाथि गोली प्रहार गरी हत्या गरिएको घटनाको विरोधमा वीरगञ्ज मा प्रदर्शन गरिएको छ ।
प्रदर्शनकारीहरूले दोषीलाई यथाशीघ्र पक्राउ गरी कारबाही गर्न माग गर्दै मंगलबार घण्टाघर क्षेत्रमा विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा सहभागीहरूले हत्यारा खुलेआम हिँडिरहेको आरोप लगाउँदै सरकारको मौनताप्रति असन्तोष व्यक्त गरेका थिए । उनीहरूले शान्तिपूर्ण रूपमा न्यायको माग राख्दै दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्ने बताएका छन् ।
प्रहरीका अनुसार सिरहाको सुखीपुर नगरपालिका–६ बैशाखा स्थायी घर भएका ३६ वर्षीय यादवलाई फागुन ३ गते साँझ करिब ८ बजे मलंगवा नगरपालिका–१० देवीटोलस्थित डेराबाट बाहिर बोलाएर अज्ञात समूहले गोली प्रहार गरेको हो ।
योगेन्द्रकुमार खड्का का अनुसार यादव सोही दिन दिउँसो मात्र बुबाको काजकिरिया सकेर मलंगवा फर्किएका थिए । घर फर्किएलगत्तै उनीमाथि आक्रमण भएको उनले जानकारी दिए ।
मृतककी श्रीमतीका अनुसार मोटरसाइकलमा आएका व्यक्तिले प्रमोदलाई कोठा बाहिर बोलाएर गोली हानेका थिए । गोली देब्रे छातीमा लागेको थियो । घटनापछि उनलाई प्रादेशिक अस्पताल मलंगवा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनास्थलबाट प्रहरीले गोलीको एक खोका बरामद गरेको छ । सरोज राई ले प्रारम्भिक अनुसन्धानका आधारमा सानो हतियार (पेस्तोल) प्रयोग भएको देखिएको बताएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
यसैबीच घटनाको विरोधमा नेपाल इन्जिनियर्स एसोसिएशन वीरगञ्ज च्याप्टरका सभापति प्रियान्सु गुप्ता (रौनियार) ले मंगलबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ‘Pen Down (कलम बन्द)’ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । कार्यालय समयमा कालोपट्टी बाँधी शान्तिपूर्ण विरोध जनाउने कार्यक्रमसमेत सञ्चालन गरिएको उनले बताए ।
सब–इन्जिनियर यादव श्रीमती र दुई वर्षीया छोरीसँगै मलंगवा–१० मा डेरामा बस्दै आएका थिए ।