अरनिको राजमार्ग अन्तर्गत बनेपा मा बुधबार बिहान टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटना बनेपास्थित दूरसञ्चार कार्यालय नजिकै भएको हो ।
प्रहरीका अनुसार बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२–०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ भने एक जना घाइते भएका छन् । घाइतेको उपचार भइरहेको जनाइएको छ ।
दुर्घटनापछि बनेपा क्षेत्र तनावग्रस्त बनेको छ । आक्रोशित स्थानीयले ठक्कर दिने टिपरमा आगजनी गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस प्रहार गरेको जनाएको छ ।
हाल स्थानीयले अरनिको राजमार्ग अवरुद्ध गरेर प्रदर्शन जारी राखेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।