राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले सुदूरपश्चिमका मुद्दा र अधिकारलाई मागका रूपमा वर्षौँसम्म अल्झाउने प्रवृत्ति अब अन्त्य गरिने उद्घोष गरेका छन् ।
बुधबार धनगढीमा आयोजित ‘परिवर्तन उद्घोष सभा’लाई सम्बोधन गर्दै उनले सुदूरपश्चिममा व्याप्त कुशासन, बेथिति, बेरोजगारी र अशिक्षाको अन्त्य गर्ने प्रतिबद्धता जनाए । “जनताको मुद्दालाई वर्षौँसम्म माग बनाएर अल्झाउने काम अब बन्द हुनुपर्छ,” उनले भने, “कुशासन, बेथिति, बेरोजगारी र अशिक्षा सबैको सटर बन्द गरेर फागुन २१ गते इतिहास रच्ने हो, केवल भोट हाल्ने होइन ।”
उनले “मनपत्रमा छाप लागिसकेको” दाबी गर्दै अब मतपत्रमा मात्र छाप लगाउन बाँकी रहेको बताए । लामिछानेले जनताको अधिकारलाई हरेक चुनावमा घोषणापत्रमा ठूलो अक्षरले लेखेर मात्रै सीमित राख्ने राजनीतिक प्रवृत्तिको अन्त्य गरिने उल्लेख गरे ।
“जनताले भोट दिने, नेताले वाचा गर्ने अनि सजाय जनताले नै भोग्ने अवस्था अब अन्त्य हुनुपर्छ,” उनले भने, “अब वाचा गरेर पूरा नगर्ने नेताले सजाय पाउनुपर्छ, जनताले होइन।” उनले पाँच वर्षका लागि स्थायी सरकार आवश्यक रहेको धारणा राखे । लामिछानेले भारतसहित विदेशमा रहेका नेपालीलाई छुट्टी मिलाएर भए पनि मतदान गर्न स्वदेश आउन आग्रह गरे ।
यसअघिका चुनावमा नेताहरू जित्दै आएको उल्लेख गर्दै उनले यसपटक जनतालाई जिताउने अभियान रहेको बताए। साथै उनले मतदातालाई मत नबाँड्न अपिल गरे ।