सर्लाहीमा गएराति भएको सवारी दुर्घटनामा दुई जना युवाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
ईश्वरपुर नगरपालिका–१३ स्थित बाँके–संग्रामपुर सडक खण्डको ठिल्ला नजिक तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा हरिपुर्वा नगरपालिका–९ मिर्चैया निवासी ३० वर्षीय मुकेश राय र सोही स्थानका ३० वर्षीय रामज्ञान राय रहेका छन्। दुर्घटनापछि अचेत अवस्थामा फेला परेका उनीहरूको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनास्थलमा भारतीय नम्बर प्लेट भएका तीनवटै मोटरसाइकल क्षतिग्रस्त अवस्थामा भेटिएका थिए। दुर्घटनामा हरिपुर्वा–९ कै २२ वर्षीय विक्रम राय र रामविश्वास राय सामान्य घाइते भएका छन्। उनीहरूलाई घटनाबारे थप अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार सवारीको अनियन्त्रित गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।