सन् २०२५ मा नेपालमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वृद्धि भएको पाइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले बिहीबार ललितपुरमा ‘नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२५’ सार्वजनिक गर्दै सन् २०२५ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट ११ हजार ५ सय ३८ जना पीडित भएको जनाएको हो ।
यसअघि सन् २०२४ मा यस्ता घटनाबाट १० हजार ७ सय ३४ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको थियो । तथ्याङ्कअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी तथा कर्णाली प्रदेशमा सबैभन्दा कम मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन् ।
सन् २०२५ मा राज्यपक्षबाट २ हजार ७ सय ५ जना पीडित भएका छन्, जुन संख्या अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा बढी हो । सन् २०२४ मा राज्यपक्षबाट ४ सय ५८ जना मात्र पीडित भएको तथ्याङ्क थियो ।
त्यस्तै, अन्य पक्षबाट भएका मानव अधिकार ज्यादतीका घटनाबाट ८ हजार ८ सय ३३ जना पीडित भएका छन् । वर्ष पुस्तक सार्वजनिक गर्दै इन्सेकले भदौ २३ र २४ गतेका घटनाका कारण मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वृद्धि भएको जनाएको छ ।
इन्सेकका पूर्व अध्यक्ष डा. कुन्दन अर्यालले नेपालमा मानव अधिकारको अवस्था सुधारिनुपर्नेमा हालको अवस्था हेर्दा स्तब्ध हुनुपर्ने स्थिति देखिएको टिप्पणी गर्नुभयो । उहाँका अनुसार ‘जेनजी आन्दोलन’का क्रममा राज्यपक्षबाट भएको दमनका कारण पनि यस वर्ष मानव अधिकार उल्लङ्घनका घटना बढेको देखिएको छ ।
इन्सेकले सन् १९९२ देखि प्रत्येक वर्ष ‘नेपाल मानव अधिकार वर्ष पुस्तक’ सार्वजनिक गर्दै आएको छ ।