नेपाली कांग्रेस का सभापति गगन थापा ले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह को अभिव्यक्तिमा कटाक्ष गर्दै बताए कि कसैलाई घोक्राएर सडक समयमा बनाउने होइन ।
राष्ट्रिय सभागृहमा आइतबार आयोजित प्रतिज्ञा सभामा सभापति थापाले भने, “सडक समयमा नबनाउनेलाई ठोक्दिन्छु, घोक्राइदिन्छु भनेर कोही बोलेको मैले सुनेँ । तर कसैलाई घोक्राएर सडक समयमा बन्दैन । सडक समयमा बनाउनका लागि ४१ वटा कानुन संसोधन गर्नुपर्ने रहेछ ।”
धनगढीमा बुधबार आयोजित सभामा वरिष्ठ नेता बालेन शाहले समयमा सडक नबनाउनेलाई रूखमा बाँधेर, खोरमा जाकेर वा बाटोमा सुताएर सडक बनाउने तर्क व्यक्त गरेका थिए ।
बालेन शाहले भनेका थिए, “खल्तीमा पैसा नभएका विपन्नले शिक्षा पाउनु पर्छ, यो हो हाम्रो एजेन्डा । विपन्न गरिबले स्वास्थ्योपचार पाउनु पर्छ, त्यो हो हाम्रो एजेन्डा । दुई वर्षमा बन्नुपर्ने सडक २० वर्षसम्म बन्दैन। डेढ वर्षमा बन्नुपर्यो, त्यो हो हाम्रो एजेन्डा । रूखमा बाँधेर होस् कि बाटोमा सुताएर होस् कि खोरमा जाकेर होस्, बाटो बन्नुपर्यो ।”
थापाले यही अभिव्यक्तिमा कटाक्ष गर्दै कानूनी र व्यवस्थित प्रक्रियामा काम गर्नुपर्ने स्पष्ट पारेका हुन् ।